‘टुर दी पोखरा २०८२’ को जर्सी सार्वजनिक, पुस ५ गते हुने र्‍यालीका लागि नाम दर्ता खुला

Share:

पोखरा । पोखरा साइक्लिङ उत्सवको महत्वपूर्ण पहिचान बनिसकेको ‘टुर दी पोखरा’ को आठौँ संस्करणका लागि जर्सी सार्वजनिक गरिएको छ। जर्सी सार्वजनिक कार्यक्रमअन्तर्गत आयोजक संस्था साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले पोखरा महानगरका मेयर धनराज आचार्यलाई हस्तान्तरण गर्दै औपचारिक रूपमा जर्सी लोकार्पण गरे। ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइक्लिङ’ भन्ने मूल नारासहित यो संस्करण पुस ५ गते, शनिबारका दिन भव्यरूपमा आयोजना हुने भएको छ। कार्यक्रमका लागि नाम दर्ता खुला गरिएको संयोजक रामचन्द्र भट्टले जानकारी दिए।

कार्यक्रम संयोजक रामचन्द्र भट्टका अनुसार सहभागिताका लागि विभिन्न समूहमा फरक/फरक शुल्क निर्धारण गगरिएको छ । पोखरा र्‍यालीभित्र साइकल यात्रा (महिला र पुरुष) का लागि १ हजार रुपैयाँ, आवासीय साइकल यात्रा (पुरुष) का लागि २ हजार ५ सय रुपैयाँ, आवासीय साइकल यात्रा (महिला तथा १६ वर्ष मुनि) का लागि १ हजार ५ सय, ६० वर्षमाथिका पुरुष साइक्लिस्टलाई आवासीयको शुल्क २ हजार रुपैयाँ तोकिएको छ । अपांगता भएका र ७० वर्ष माथिका सहभागीका लागि दर्ता शुल्क लाग्ने छैन ।

कार्यक्रममा ५० वर्ष नाघेका महिला र ६० वर्ष नाघेका पुरुष साइक्लिस्टहरूलाई ट्रफीबाट सम्मान गरिने आयोजकले जनाएका छन् । त्यस्तै, सबभन्दा कम र बढी उमेरका सहभागीहरूलाई पनि सम्मान गरिनेछ । आफ्नो जीवनकालमा साइकल यात्राका क्रममा कठिन यात्रा सम्पन्न गरेकाहरूलाई विशेष सम्मान गरिने अध्यक्ष श्रेष्ठले बताए ।

आमन्त्रित स्वदेशी एवं विदेशी सहभागीहरूका लागि पुस ४ गते आवास मात्र र पुस ५ गते खाजा, खाना र आवाससहित रात्रिभोज एवं सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको छ । पुस ६ गते बिहानको खाजापछि बिदाई गरिने छ।

संयोजक भट्टका अनुसार सहभागी हुन चाहनेले यही मंसिर २५ गतेभित्र नाम दर्ता गराइसक्नुपर्नेछ । दर्ताका लागि सहभागीले आफ्नो नाम, ठेगाना, वर्ष, रक्त समूह, ज्याकेट साइज, सम्पर्क नम्बर र कुनै संघसंस्थामा आबद्ध भए सोको जानकारी अनिवार्य उपलब्ध गराउनुपर्नेछ । साइकल र्‍याली पोखराको सभागृहचोकबाट बिहान साढे ६ बजे सुरु हुनेछ । आयोजकका अनुसार साइकल यात्रीको दुर्घटना बीमा समेत गरिएको छ ।

साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले कार्यक्रम घोषणा गर्दै नयाँ वर्षको महोत्सवसँग जुध्ने भएकाले यसपालिको र्‍याली केही अगाडि सारिएको जानकारी दिए । ‘विगतमा नयाँ वर्षको महोत्सवसँग कार्यक्रम जुध्ने गरेको मेयर धनराज आचार्यको सुझावलाई मनन गर्दै हामीले र्‍यालीलाई पुसमा सार्ने निर्णय गरेका हौं,’ उनले भने ।

श्रेष्ठले इन्धन खर्च नहुने, स्वास्थ्य तथा वातावरणमैत्री हुने भएकाले साइकलको महत्व दिनानुदिन बढ्दै गएको बताए । ‘हामी टुर दी पोखरा लाई पोखराको ब्रान्ड बनाउन र सहरलाई साइकल सिटीका रूपमा अघि बढाउन प्रयत्नरत छौं,’ उनले भने ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा साइकल सिटी पोखराका वरिष्ठ सल्लाहकार आनन्दराज मुल्मीले ‘टुर दी पोखरा’ लाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यमा आफूहरू क्रियाशील रहेको बताए । ‘साइकल सिटी जीवन्त राखिए मात्रै पोखरा पनि जीवन्त रहन्छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
Share: