
पोखरा । पोखरा महानगरपालिका-८ रत्नचोकमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा सञ्चालित श्रीकृष्ण प्रणामी मन्दिर पुनःनिर्माण र सौन्दर्यकरणपछि एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। अनन्तश्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणि महाराजले मन्दिरको पूजा-अर्चना गर्दै औपचारिक रूपमा पुनर्निर्मित मन्दिर उद्घाटन गरे।
समारोहलाई सम्बोधन गर्दै महाराजले पोखरा जस्तो पर्यटकीय शहरमा श्रीकृष्ण प्रणामी समुदायको सहयोग र सहभागिताले मन्दिर पुनर्निर्माण सम्भव भएको भन्दै कृतज्ञता व्यक्त गरे । विभिन्न धर्मग्रन्थका उद्देश्य समान भएको उल्लेख गर्दै उनले “परमात्मा एकै हुन्, रूप मात्र फरक” भन्ने आध्यात्मिक सन्देश पनि दिए। साथै श्री ५ नवतनपुरी धाम पुनर्निर्माणमा सहयोग पु(याउन पोखरेलीहरूलाई समेत आग्रह गरे।
स्थानीय सरकारको निरन्तर सहयोगको प्रतिवद्धता
पोखरा-८ का वडाध्यक्ष रुद्रनाथ बरालले मन्दिर पुनर्निर्माण र प्रवर्द्धनका लागि वडा कार्यालय निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा आवश्यक थप सहयोग उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै पोखरा-७ का वडाध्यक्ष राम मोहन आचार्यले मन्दिरलाई धार्मिक पर्यटनको आकर्षणका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राख्दै सक्दो सहयोग गर्ने घोषणा गरे।
संगठनहरूले मन्दिर पुनर्निर्माणलाई ऐतिहासिक उपलब्धि माने
श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्माले देशकै पहिलो धार्मिक संस्थाका रूपमा समितिको योगदान स्मरण गर्दै पोखरास्थित मन्दिरको सफल पुनर्निर्माणमा साथ दिने सबैप्रति धन्यवाद व्यक्त गरे। १०८ पुरुषोत्तम महाराजले नवतनपुरी धाम पुनर्निर्माण कार्य जारी रहेको बताउँदै पोखरास्थित मन्दिरलाई निरन्तर संरक्षण र प्रवर्द्धन गर्न सामूहिक सहयोग आवश्यक रहेको उल्लेख गरे।
२ लाख सहयोगको घोषणा
श्रीकृष्ण प्रणामी सेवा समिति पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले मन्दिर पुनर्निर्माण सम्पन्न भएको खुशी व्यक्त गर्दै नवतनपुरी धाम पुनर्निर्माणका लागि व्यक्तिगत रूपमा २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे। समितिको तर्फबाट पनि थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गरियो। कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्म संरक्षक परिषदका संयोजक रागवराज रेग्मी, सेवा समितिका उपाध्यक्ष बद्रीप्रसाद ओली, धर्म प्रचारक श्यामदास महाराज, मन्दिरका पुजारी लिलाम्बर सापकोटा, प्रचारिका जमुना सुवेदी, समिति तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि, शिक्षाविद्, कलाकार तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रम समिति सचिव लक्ष्मण बरालले सञ्चालन गरेका थिए।

