पोखरा बृद्धाश्रममा जापानी प्रतिनिधिमण्डलको स्वागत

Share:

पोखरा। जापानको नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतोसहितको उच्चस्तरीय प्रतिनिधिमण्डललाई शुक्रबार पोखरा बृद्धाश्रमले विशेष सम्मानका साथ स्वागत गरेको छ। नायोरो नगरका उपप्रमुख हाशिमोतो र समाजकल्याण शाखाका प्रबन्ध निर्देशक युटो गोटोसहितको टोलीलाई बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुली सहित पदाधिकारीहरूले अभिवादन गरेका थिए।

कार्यक्रममा उपप्रमुख हाशिमोतोले आफू दोस्रोपटक पोखरा आएको बताउँदै पोखरालाई अत्यन्त मनपर्ने गन्तव्यका रूपमा उल्लेख गरे। उनले जापानमा ज्येष्ठ नागरिकका लागि प्रदान गरिने हेरचाह व्यवस्था, औसत आयु र आधुनिक सेवाको बारेमा विस्तृत जानकारी प्रस्तुत गरे।

बृद्धाश्रमका अध्यक्ष पराजुलीले संस्थापक स्व। ऋषिकेशव पराजुलीद्वारा २०५३ सालमा स्थापना भएको पोखरा बृद्धाश्रमले असहाय ज्येष्ठ नागरिकको जीवनमा अभिभावक बनेर सेवा प्रदान गर्दै आएको बताए। उनले केही समयअघि नायोरोमा ज्येष्ठ नागरिक सेवा प्रणालीबारे प्रत्यक्ष अध्ययन गर्ने मौका पाएको उल्लेख गर्दै, “त्यहाँका उत्कृष्ट अभ्यासलाई यहाँ सीमित स्रोतसाधनमै कसरी लागू गर्न सकिन्छ भन्ने दिशामा काम भइरहेको छ,” भने।

कार्यक्रममा नायोरोका समाजकल्याण शाखाका प्रमुख युटो गोटो, विदेश मानव संसाधन विभागका शतोसी फुजी, पोखरा बृद्धाश्रमका उपाध्यक्ष केशव लम्साललगायतले आफ्ना विचार व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यतिर अध्यक्ष पराजुलीले जापानको नायोरो नगर तथा समाजकल्याण शाखालाई नेपालको संस्कृतिको पहिचान झल्काउने मायाको चिनो प्रदान गर्दै द्विपक्षीय मैत्री सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे। पोखरा बृद्धाश्रममा भएको यो अन्तरक्रियाले नेपाल-जापानबीच ज्येष्ठ नागरिक सेवा क्षेत्रको ज्ञान, अनुभव र सहकार्य विस्तारमा नयाँ सम्भावना खुलेको मानिएको छ।

कमेन्ट गर्नुहोस्
Share: