
पोखरा। कास्की मोर्डनाइज्ड एकेडेमी सेकेण्डरी स्कूलमा शुक्रबारदेखि सुरु भएको ‘कास्की मोर्डनाइज्ड महोत्सव-२०८२’ कला, साहित्य, शिक्षा, खेल, सिर्जना तथा मनोरञ्जनको अद्भुत संगमका रूपमा चर्चामा आएको छ। ‘शैक्षिक क्षेत्रमा देखिएको आफ्नै पहिचान, हाम्रा विद्यार्थीको चौतर्फी क्षमता विकासमा हाम्रो अभियान’ भन्ने मूल नारासहित सुरु भएको महोत्सव आज शनिबारसम्म चल्नेछ।
विद्यालयले पहिलोपटक आयोजना गरेको यो महोत्सवले कक्षा कोठाभन्दा बाहिरका सिकाइ-अनुभवलाई आत्मसात् गराउँदै विद्यार्थीको अन्तर्निहित प्रतिभा पहिचान गर्ने उद्देश्य राखेको छ। विद्यार्थीहरूले निर्माण गरेका वस्तु, परिकार र सिर्जनालाई अभिभावकले ग्राहक बनेर खरिद गर्ने विशेष मोडेलले महोत्सवलाई अझ आकर्षक बनाएको छ। विक्रीबाट खर्च कटाएपछि बाँकी रकम विद्यार्थी आफैँले पाउने भएकाले कार्यक्रममा सहभागिताले उनीहरूलाई उद्यमशीलता र आर्थिक व्यवहारको वास्तविकतालाई नजिकबाट बुझ्ने अवसर दिएको छ।
दुईदिने महोत्सवमा फरक-फरक तहको सहभागिता
शुक्रबारको सत्रमा नर्सरीदेखि कक्षा २ तथा कक्षा ८ देखि १० का विद्यार्थीसँगै पूर्वविद्यार्थी र अभिभावकको सहभागिता रह्यो। शनिबार भने कक्षा ३-७ तथा कक्षा ११ र १२ का विद्यार्थी, अभिभावक र पूर्वविद्यार्थीले प्रस्तुति दिनेछन्। विद्यालयका संस्थापक प्रमुख राम बहादुर मोचीले अभिभावक दिवसले सबै गतिविधि समेट्न नसक्ने भएकाले यस वर्ष दुईदिने महोत्सव आयोजना गरिएको बताए।
“कक्षा कोठामा मात्र अब्बल भएर जीवन सफल हुँदैन,” उनले भने, “बाहिरी अनुभव, व्यवहारिक सीप र सिर्जनात्मकता नै जीवन कौशलको आधार हो, त्यही सोचका साथ हामीले यो महोत्सव सुरु गरेका हौं।”
उनका अनुसार विद्यार्थीले बनाएको वस्तु-परिकार अभिभावकले खरिद गर्ने मोडेलले नाम र दाम दुवै कमाउने अवसर प्रदान गर्नेछ। महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले प्रत्येक बच्चा जन्मैदेखि केही न केही प्रतिभा लिएर आउने भएकाले त्यो पहिचान विद्यालयको महत्वपूर्ण दायित्व भएको बताए।
“यो महोत्सव रमाइला लागि मात्र होइन, जीवन बाँच्न सक्ने कौशल सिकाउनको लागि हो,” उनले जोड दिए। अभिभावकले विद्यालयले दिएको सिकाइलाई दैनिकीमै लागू गरिदिनुपर्ने उनले उल्लेख गरे। एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले महोत्सवलाई विद्यार्थीको चौतर्फी विकासतर्फको महत्वपूर्ण कदम बताए। हिसान कास्कीका अध्यक्ष दिवारक जैसीले बहुअयामिक क्षमताको पहिचानमा महोत्सवले ‘थलो’को काम गरेको बताए।
रामेश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष अधिवक्ता बोधराज बरालले निजी विद्यालयले यस्तो प्रेरणादायी कार्यक्रम सञ्चालन गर्नु सामुदायिक विद्यालयका लागि सिकाइको थालनी भएको बताए। कार्यक्रमको उद्घाटन सत्र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष राधा नेपालीको अध्यक्षतामा सम्पन्न भयो। सहायक प्र।अ। शिवलाल उपाध्याय, शैक्षिक प्रमुख शिवु ढकाल, शिक्षक अनुराग अधिकारी, विद्यार्थी जोसना गुरुङ र निशु गुरुङले समेत आफ्ना विचार व्यक्त गरे।



