
पोखरा। एभरेस्ट मिडिया हाउस प्रालिद्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा आज १५१ युनिट रगत संकलन गरिएको छ। एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा “म त रक्तदान गर्दैछु, तपाईं नि ?” भन्ने मूल नारासहित पोखरा–५ प्रस्याङस्थित रेडियो प्राङ्गणमा सम्पन्न कार्यक्रममा १२७ पुरुष र २४ महिलाले रक्तदान गरेका हुन्।
कार्यक्रममा १६ जना पहिलोपटक रक्तदान गर्न आएका थिए। रक्तदान अभियानमा जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन, एवन ग्रेटर नेपाल यातायात, बालकल्याण संस्था, शितलाज्योति युवा क्लब, टीम महादेव गुरुङ, इम्पावर हेल्थ केयर लगायतका संघ-संस्थाहरूको सक्रिय सहभागिता थियो।
नियमित रक्तदातामध्ये माछापुच्छ्रे-३ घाचोकका दुर्गाप्रसाद घोरासैनीले ५९ औं, शम्भुलाल श्रेष्ठले ५५ औं, राजेश तण्डुकारले ५४ औं, बिजयकुमार प्रधानले ४४ औं, र रामबहादुर पौडेलले ४१ औं पटक रक्तदान गरेका छन्। यससँगै अन्य धेरै स्वयंसेवकले पनि आफ्नो उच्च सामाजिक जिम्मेवारी प्रदर्शन गरेका थिए।
कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्काले पहिलो रक्तदाता, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललाई ब्लड ब्याग हस्तान्तरण गर्दै गरिन्। उनले भनिन्, “रक्तदानले अरूको मात्र होइन, आफू स्वयंको जीवन पनि सुरक्षित हुन्छ।”
रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले एभरेस्ट मिडिया हाउसको सामाजिक उत्तरदायित्वप्रतिको सक्रियताप्रति प्रशंसा व्यक्त गर्दै भने, “रक्तदान स्वास्थ्यका लागि उपयोगी छ र अरूको जीवन बचाउने सबैभन्दा सरल तर प्रभावकारी माध्यम पनि यही हो।”
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले रक्तदानलाई “सबैभन्दा पूण्य काम” को संज्ञा दिँदै नियमित रूपमा रक्तदान गर्न समाजका सबैलाई आग्रह गरे। एभरेस्ट मिडिया हाउसका प्रमुखरसम्पादक दीपेन्द्र श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै भने, “आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउन सकिन्छ, एभरेस्ट मिडिया हाउस यही सकारात्मक भावना बोकेर अघि बढिरहेको छ।”
उनले रक्तदानमा सहभागी सबै स्वयंसेवक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरे। कार्यक्रमलाई हिमालयन एभरेस्ट इन्स्योरेन्स, सन्तान आईभीएफ क्लिनिक, सिटिजन फर्निचर, आस्था किड्नी एण्ड स्पेसलाइज्ड हस्पिटल, तारा सुमन सप्लायर्स, एस एन्ड बी ट्रेडर्स, इम्पावर हेल्थ केयर, नेलम्बो नेपाल, पुन ग्रुप अफ पोल्ट्री, पिउरो ड्रिङ्किङ वाटर, पञ्चरत्न आभूषण सहितका संस्थाहरूले सहयोग गरेका थिए। सहयोगी संस्थाहरूको सूची सार्वजनिक गर्दै मार्केटिङ डाइरेक्टर भोलाकुमार श्रेष्ठले सबैलाई धन्यवाद दिए। एभरेस्ट मिडिया हाउसद्वारा आयोजित यो रक्तदान कार्यक्रमले पोखरामा सामाजिक अभियान र मानवीय सेवाको प्रभावकारी उदाहरण प्रस्तुत गरेको छ।
