
पोखरा । पोखरा महानगरपालिका-१३ बाँझापाटनकी ईश्वरा लिम्बुले ५०० रुपैयाँ तिरेर दुई वटा कुसन किनिन्। उनलाई कुसनको तत्काल आवश्यकता थिएन, तर विद्यालयको महोत्सव अवलोकन गर्न जाँदा मन मानेपछि उनले खरीद गरेकी हुन्। उनी विद्यालयकी अभिभावक हुन् र विद्यालयले आयोजना गरेको पहिलो महोत्सवमा आफ्ना छोराछोरीको सृजनशीलता प्रोत्साहन गर्न उपस्थित भइन्।
महोत्सवमा विद्यालयका विद्यार्थीले आफैं निर्माण गरेका विभिन्न सामाग्री, हस्तकला, परिकार तथा शैक्षिक सामग्री बिक्रीका लागि राखेका थिए। बिक्रीबाट आएको रकम विद्यार्थीहरूले स्वयं पाउने व्यवस्था गरिएको थियो।
विद्यार्थीका प्रतिभा प्रकट गर्ने प्लेटफर्म
कक्षा ७, ८ र ९ का विद्यार्थीहरूले हातको काम, शैक्षिक सामाग्री, चित्रकला र परिकारको बिक्रीमार्फत आफ्ना प्रतिभा प्रदर्शन गरे। कक्षा ८ का विद्यार्थी मानुषी भण्डारीले भनिन्, “विद्यालयले महोत्सव मार्फत हामीलाई पढाईसँगै रोजगारीमा कसरी जोडिन सकिन्छ भन्ने सिकायो।”
महोत्सव अवलोकन गर्न आएका अभिभावकहरू आफ्ना छोराछोरीको प्रतिभा देखेर अचम्मित भएका थिए। पोखरा-८ न्यूरोडका रमन गिरिले भने, “विद्यार्थीहरूले आफ्ना सिर्जना देखाउने उत्कृष्ट अवसर पाएका छन्।”
महोत्सवमा शैक्षिक सामग्री, चित्रकला, हस्तकला, खेलकुदका कार्यक्रम, पुस्तक प्रदर्शन र परिकार विक्री भयो। १ हजार रुपैयाँसम्मको सामान किन्नेलाई कुपन वितरण गरिएको थियो र गोला प्रणाली मार्फत उत्कृष्ट २० जनालाई पुरस्कार प्रदान गरिएको थियो।
विद्यालयका संस्थापक प्रध्यानाध्यापक रामबहादुर मोचीले बताए,“हाम्रो उद्देश्य विद्यार्थीको चौतर्फी क्षमता विकास गर्नु हो। पहिलो पटक आयोजना भएको यो महोत्सव सफल भयो र भविष्यमा यस्ता गतिविधिमा अभिभावकको साथ अपेक्षित छ।”
समापन कार्यक्रममा प्रमुख शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले महोत्सवलाई विद्यार्थीलाई आत्मनिर्भर बनाउने उदाहरणीय पहल भने, “विद्यार्थीका प्रतिभा उजागर गर्ने, जीवन जिउने शिक्षा सिकाउने काम विद्यालयले गरिरहेको छ। उत्कृष्ट सर्टिफिकेट मात्र होइन, जीवन जिउने सीप र संस्कार आवश्यक छ,” उनले भने।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष राधा नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरूले महोत्सवको सफलता र विद्यार्थी प्रोत्साहनमा आफ्नो विचार व्यक्त गरे।



