पोखरामा नवौं वार्षिकोत्सव अवसरमा भलिबल प्रतियोगिता हुने

Share:

पोखरा । पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदीपुरको आयोजनामा र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस, न्यूरोडको सह-आयोजनामा पोखरामा क्लबस्तरीय पुरुष-महिला भलिबल प्रतियोगिता आयोजना हुन लागेको छ। केन्द्रका अध्यक्ष कुलबहादुर छन्त्यालले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रको नवौं वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेको प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रमबारे जानकारी दिए। छन्त्यालले प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत युवाहरूमा सकारात्मक अनुभव र मेलमिलापको भावना प्रवर्द्धन गर्नु रहेको उल्लेख गरे।

उनका अनुसार प्रतियोगिता राष्ट्रिय स्तरमा भलिबलको विकासमा टेवा पु¥याउने, लुकेर रहेका प्रतिभाहरूलाई प्रोत्साहन र दक्ष बनाएर व्यवसायिक खेलाडी उत्पादन गर्ने तथा खेललाई अझ चलायमान बनाउने लक्ष्य राखिएको छ। कार्यक्रमका संरक्षक पदम श्रेष्ठले सामाजिक उत्तरदायित्वलाई पनि प्रतियोगितासँग जोडेर विगतका वर्षमा संकलित रकम असहाय, गरिब र पीडित नागरिकहरूको उपचारमा सहयोग प्रदान गरिएको जानकारी दिए।

प्रतियोगितामा पुरुष भलिबलमा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः १ लाख ५० हजार र १ लाख रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। सेमिफाइनलको उपविजेता दुई टिमलाई २५ हजार रुपैयाँको सान्त्वना पुरस्कार दिइनेछ। सहभागी शुल्क पुरुष तर्फ ६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।

महिला भलिबलमा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः ६० हजार र ४० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। महिलातर्फको सहभागी शुल्क ४ हजार ५०० रुपैयाँ तोकिएको छ। खेलकुदमा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सभैर र प्रशिक्षकलाई पनि विशेष पुरस्कार दिइने कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए। अन्तर्राष्ट्रिय रेफ्री टहलसिंह थापा मगरले पुरुष प्रतियोगिता लिग प्रणाली र महिला प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने जानकारी दिए।

सामाजिक उत्तरदायित्वअन्तर्गत विगतका वर्षमा मृगौला प्रत्यारोपणका लागि सुरज गुरुङलाई १ लाख, ब्लड क्यान्सर उपचारका लागि मनकुमारी पुनलाई ३० हजार र माया छन्त्याललाई उपचारका लागि २५ हजार रुपैयाँ प्रदान गरिएको थियो। पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेलले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे। कार्यक्रमको अध्यक्षता कुलबहादुर छन्त्यालले गर्नु भएको थियो भने सञ्चालन अशोक थापाले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: