
पोखरा। पोखरा उद्योग वाणिज्य संघले नेपाल मणिपाल अस्पतालको सह-सहयोगमा आगामी मंसिर १७ देखि २१ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक-२०८२ भव्य रूपमा आयोजना गर्ने भएको छ। मंगलबार गरिएको पत्रकार सम्मेलनमार्फत मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ ।
संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि को सहर बनाउने लक्ष्यसँग नेपाल मणिपाल अस्पतालको उद्देश्य मिलेको कारण सहकार्य सम्भव भएको बताए। उनका अनुसार पोखराको अनुकूल हावापानी र प्राकृतिक वातावरणले स्वास्थ्य पर्यटन विस्तारका विशाल सम्भावना बोकेको छ। “पोखरा आयुर्वेद, योग र ध्यानको केन्द्र बन्न सक्छ,” कार्कीले भने।
उद्योग-व्यापारदेखि सूचना-प्रविधिसम्म ५ दिने आकर्षक प्रदर्शनी
मेलामा स्वदेशी उत्पादन, हस्तकला, कृषि, अटोमोबाइल, सूचना-प्रविधि, घरायसी सामग्रीदेखि पर्यटनसम्बन्धी सेवासम्मका स्टल रहने छन्। पोखरा उद्योग वाणिज्य संघका अनुसार यसपटक १२० वटा स्टल रहनेछ। क्यान महासंघ कास्कीका अध्यक्ष पुष्पोत्तम कँवरले इन्फोटेकमार्फत नवीनतम प्रविधि, साइबर सुरक्षा, डिजिटल उपकरण तथा नवप्रवर्तनबारे जानकारी गराइने बताए।
पोखरा महानगरले प्रदर्शनी केन्द्रभित्र ‘ग्रीन भेन्चर’ परियोजना निर्माण गरिरहेको हुँदा स्टल संख्या र अवधि दुवै घटाउनुपरेको आयोजकले स्पष्ट गरेको छ। “निर्माण पूर्ण भएपछि अर्को वर्षबाट विस्तारित रूपमै मेला हुनेछ,” अध्यक्ष कार्कीले भने ।
मेलामा गण्डकी प्रदेशका परम्परागत संस्कृति प्रस्तुत गरिनेछ। साथै, उद्यमशीलता प्रवर्द्धन, लगानीमैत्री नीति निर्माण, नवप्रवर्तन तथा कृषि-प्रविधि सम्बन्धी परिसंवाद कार्यक्रम पनि समावेश गरिनेछ।
मेलामा प्रवेश निःशुल्क रहनेछ।
जेनजी आन्दोलनपछिको त्रासले लगानी वातावरण धमिलिइरहेको बेला पनि निजी क्षेत्र कर्तव्यबाट विचलित नभएको कार्कीले बताए।
“निजी क्षेत्र त्रसित छ, तर हतास छैन,” उनले भने।
५ लाख बचत हुने अनुमान
मेला गैर–नाफामूलक भएकाले आम्दानी-खर्च औपचारिक रूपमा गणना नगरिए पनि करिब ५० लाख आम्दानी र ४५ लाख खर्च हुने अनुमान गरिएको र बाँकी रकम उद्यमशीलता प्रवर्द्धनमै लगाइने आयोजकले स्पष्ट गरेको छ।
पोखरा उद्योग वाणिज्य संघले मेलालाई औद्योगिक उत्पादन, पर्यटन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाटको महत्वपूर्ण अवसर रहेको भन्दै सबैलाई सहभागी हुन आग्रह गरेको छ।
