
पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजना र गैरसरकारी संस्था महासंघ कास्कीको समन्वयमा कास्की जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूको आव २०८१/८२ को वार्षिक तथा आव २०८२/८३ को हालसम्मको प्रगतिमाथि केन्द्रित समीक्षा कार्यक्रम बुधबार सम्पन्न भयो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न समीक्षात्मक कार्यक्रममा स्थानीय तहका सामाजिक विकास शाखा प्रमुखहरू, विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारी, महासंघ कास्की अध्यक्ष इन्दिरा पौडेल तथा जिल्ला समन्वय समितिका पदाधिकारीसहित करिब ७० जना सहभागी थिए ।
कार्यक्रममा २३ वटा गैरसरकारी संस्थाहरूले आफ्नो वार्षिक उपलब्धि, चुनौती तथा चालू आर्थिक वर्षका योजनाहरूको विस्तृत प्रस्तुति राखे । स्थानीय तहका सामाजिक विकास शाखा प्रमुखहरूले नीतिगत मात्र नभई कार्यगत रूपमा पनि सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै सबै संस्थालाई स्थानीय तहसँग सुदृढ साझेदारीमा अघि बढ्न अनुरोध गरे ।
महासंघ कास्कीकी अध्यक्ष इन्दिरा पौडेलले गैरसरकारी संस्थाहरूलाई जनमुखी, पारदर्शी र उत्तरदायी कार्यशैली अपनाउन बलियो संदेश दिइन् । समीक्षाको समापन गर्दै समिति प्रमुख लिलाधर पौडेलले स्थानीय समस्याको समाधान र नागरिक सेवामा गैरसरकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए ।
“गैरसरकारी संस्थाहरूले पारदर्शिता, सुशासन, भ्रष्टाचारविरहित कार्यशैली र खुलापनलाई प्राथमिकतामा राख्नैपर्छ,” उनले भने । संस्थाप्रति आउने आलोचनाहरू सम्बोधन गर्दै अझ जिम्मेवार ढंगले अघि बढ्न उनको सुझाव छ ।
यस्तै, उनले सरकारी मापदण्डअनुसार न्यूनतम तलब व्यवस्था, सामाजिक सुरक्षामा कर्मचारीहरूको सुनिश्चितता तथा दिगो विकास लक्ष्य प्राप्तिमा गैरसरकारी संस्थाको भूमिकालाई अनिवार्य बताउँदै सकारात्मक रूपमा काम गर्न प्रेरित गरे ।
कार्यक्रम जिल्ला समन्वय समितिका सूचना अधिकारी लक्षु शर्माको सञ्चालनमा सञ्चालन भएको थियो । कार्यक्रमको उद्देश्यबारे जिल्ला समन्वय अधिकारी नवराज वरालले प्रकाश पारेका थिए भने सहभागीहरूलाई उपप्रमुख सरिता कुमालले स्वागत गरेकी थिइन् ।
