
पोखरा । कास्की प्रहरीले लागूऔषध नियन्त्रण अभियान अन्तर्गत पोखरा-२६ कालिकाचोक क्षेत्रमा गरिएको निगरानीपछि ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिति २०८२ मंसिर ८ गते साँझ ५ बजे गोप्य सूचनाका आधारमा गरिएको चेकजाँच क्रममा युवा लागूऔषध कारोबारमा संलग्न रहेको पुष्टि भएको हो ।
इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पोखरा-१ बगर निवासी २८ वर्षीय मनोज श्रेष्ठ द्वारा चलाइएको ग २५ प १९२१ नम्बरको मोटरसाइकललाई रोक्दै गरेको चेकजाँचमा उनीसँग प्लास्टिकमा लुकाइ राखिएको १.३ ग्राम ब्राउनसुगर (खैरो हेरोइन) फेला पारेको प्रहरीले जनाएको छ ।
ब्राउनसुगर ज्याकेटभित्र विशेष रूपमा लुकाएर बोकिएको अवस्थामा बरामद भएपछि श्रेष्ठलाई तत्कालै नियन्त्रणमा लिनुका साथै मोटरसाइकलसमेत जफत गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका युवकविरुद्ध लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ । सम्मानित कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप भई हाल विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
