
पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका-१२, कुँडहर चोकमा भइरहेको लागूऔषध बिक्रीबितरणको सूचनाका आधारमा गरिएको संयुक्त खानतलासीबाट दुई जनालाई पक्राउ गरेको छ।
बुधबार साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो पोखराको टोलीले ग २६ प ३७९७ नं. को स्कुटर रोकी चेकजाँच गर्दा स्कुटर चालक २२ वर्षीय दिपेन छन्त्याल र पछाडि सवार २५ वर्षीय राहुल शेरचनलाई नियन्त्रणमा लिएको हो।
तलासी क्रममा उनीहरूको साथबाट प्लास्टिकमा लुकाइछिपाई राखिएको ब्राउनसुगर जस्तै देखिने ०.३२ ग्राम र चरेश जस्तै देखिने १।३३ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
लागूऔषधसम्बन्धी कसूरमा दुवैजनामाथि कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।प्रहरीका अनुसार कास्की क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानलाई अझ कडा रूपमा अघि बढाइने जनाएको छ।
