
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाबाट पारित दुइ वटा महत्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार ‘गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन सम्बन्धी विधेयक’ तथा ‘गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक, २०८२’ प्रमाणीकरण भएर ऐनका रूपमा लागू हुने भएका छन्।
नेपालको संविधानको धारा २०१ (२) बमोजिम यी विधेयक प्रमाणीकरण गरिएको कार्यालयका प्रवक्ता प्रविण पौडेलले जानकारी दिए।
प्रदेशसभाबाट पारित भई सभामुखबाट प्रमाणित भएका दुवै विधेयक मंसिर ९ गते प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएका थिए। कार्यालयका अनुसार विधेयकहरू मंसिर ११ मा प्रमाणीकरण भएका हुन्।
प्रमाणीकरणसँगै अब खानी तथा खनिज पदार्थ व्यवस्थापनमा कानुनी स्पष्टता कायम हुने र गण्डकी विश्वविद्यालयको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रावधान थप परिमार्जित भएर लागू हुने भएका छन्।
