बेगनास सिंचाइ शाखा नं-२को वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन

Share:

पोखरा । वेगनास सिंचाइ प्रणाली शाखा नं-२ले आफ्नो वार्षिक साधारण सभा तथा अधिवेशन बिहीबार समारोहपूर्वक सम्पन्न गरेको छ। सभामा सिंचाइ प्रणालीको हालको अवस्था, प्रविधिमैत्री व्यवस्थापन, स्थानीय जलस्रोत संरक्षण तथा कृषकहरूको दीगो कृषि अभ्यास सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा बेगनास सिंचाइ प्रणाली मूल उपभोक्ता समितिका उपाध्यक्ष राजु खत्रीले शाखाको कार्यक्षेत्र विस्तार गर्दै फोहोर व्यवस्थापन, पानीको उचित उपयोग र प्रविधिमैत्री सिंचाइ प्रणाली विकासमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका सभापति तथा शाखा अध्यक्ष विष्णुवहादुर बस्नेतले सिंचाइ प्रणालीलाई कृषि विकासको मेरुदण्ड भन्दै बाढी-पहिरो, भूक्षय र माटो कटानजस्ता जोखिम व्यवस्थापनमा कृषकहरू सक्रिय हुन आवश्यक रहेको बताए। उनको भनाइमा व्यवस्थित सिंचाइ नै बाली संरक्षण र उत्पादन वृद्धि गर्ने प्रमुख आधार हो।

सचिव विश्वराज लामिछानेले आगामी योजना सार्वजनिक गर्दै सिंचाइ सुविधा विस्तार, स्थानीय जलस्रोत संरक्षण र कृषक प्रशिक्षणजस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। कोषाध्यक्ष शिवबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा पूर्व अध्यक्ष घनश्याम खनाल, सल्लाहकार गणेशबहादुर खत्री, उद्योग वाणिज्य संघ लेखनाथका सल्लाहकार सदस्य भरत थापा, समाजसेवी खेमराज अधिकारी, किसान परियार र शरणकुमार प्रधानलगायतले कृषि आधुनिकीकरणको मूल आधार नै सिंचाइ भएको उल्लेख गर्दै नयाँ नेतृत्वलाई बहुउद्देश्यीय योजनासहित अगाडि बढ्न सुझाव दिए।

अधिवेशनले शिवबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। सो समितिमा उपाध्यक्ष विश्वराज लामिछाने, सचिव मोहनबहादुर थापा, कोषाध्यक्ष कृतिराज खनाल तथा सदस्यहरूमा राजु खत्री, बलराम केसी, रामबहादुर खत्री, सम्मरबहादुर खत्री, पद्ममा बास्तोला, लालमाया थापा र झलक थापा निर्विरोध चयन भएका छन्।

निर्वाचन मण्डलको संयोजकमा संस्थाका सल्लाहकार गणेशबहादुर खत्री रहेका थिए। बेगनास क्षेत्रको सिंचाइ व्यवस्थापन सुदृढीकरण र कृषि आधुनिकीकरणमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: