लेकसिटीका पत्रकारिता विद्यार्थीको ‘मिडिया भिजिट’: कक्षाकोठाबाट निस्केर न्युजरुमसम्मको अनुभव यात्रा

Share:

पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरका पत्रकारिता अध्ययनरत विद्यार्थीले आइतबार कक्षाकोठाको सिद्धान्तलाई व्यवहारमा तुलनाका लागि विस्तृत ‘मिडिया भिजिट’ सम्पन्न गरेका छन्। स्नातक तह (पहिलो र दोस्रो वर्ष) का विद्यार्थीहरूले विभिन्न सञ्चारगृह पुगेर बदलिँदो सञ्चार प्रविधि, मिडियाको चुनौती र अवसरबारे प्रत्यक्ष अवलोकन गरे। विद्यार्थीहरूले रेडियो अन्नपूर्ण, समाधान दैनिक, रोजिना अफसेट प्रेस र पब्लिक फोरके टेलिभिजन पुगेर समाचार उत्पादनदेखि छपाइ र प्रसारण प्रविधिसम्मका महत्वपूर्ण पक्षहरूबारे जानकारी लिए।

भ्रमणको सुरुवात रेडियो अन्नपूर्णबाट भयो। स्टेसन म्यानेजर सञ्जय मल्लले २०५८ सालमा निजी एफएम खुलेको समयदेखि आजसम्मको ठूलो परिवर्तन सुनाए। ‘राजाको शासनकालमा समाचार कक्षमै सेनाको हस्तक्षेपदेखि भूकम्प र कोभिड महामारीसम्म रेडियोले धेरै चुनौती बेहोरेको छ,’ मल्लले स्मरण गरे। प्रविधिको विकासले विज्ञापन बजार खुम्चिँदा रेडियोलगायत मिडिया आर्थिक संकटमा परेको उनले बताए।

समाधान दैनिकमा विद्यार्थीले ‘गेटकिपिङ’, सम्पादनप्रक्रिया, पृष्ठ संयोजनजस्ता प्राविधिक पक्ष नजिकबाट हेरे। सम्पादक केशवशरण लामिछानेले २०५९ मा द्वन्द्वकै बीच पत्रिका सुरु भएको बताए। ‘२०७२ को संविधानपछि समाधानले काठमाडौंबाहिरबाट व्यावसायिक र सन्तुलित पत्रकारिताको अभ्यास गर्दै आएको छ,’ उनले भने। पत्रिका अहिले प्रिन्टसँगै डिजिटल संस्करणमा पनि विस्तारित छ।

रोजिना अफसेट प्रेसमा विद्यार्थीले छपाइ प्रविधिको आधुनिकता अवलोकन गरे। प्रेस सञ्चालक रोजिना श्रेष्ठले छपाइको काम घट्दै गए पनि नयाँ मेसिन र प्रविधि ल्याएर व्यवसाय टिकाइरहेको बताइन्। ‘परम्परागत र आधुनिक दुवै प्रविधि अपनाएका छौं, सामाजिक सञ्जालमार्फत् मार्केटिङले व्यवसायलाई नयाँ दिशा दिएको छ,’ उनले भनिन्।

अन्तिम चरणमा विद्यार्थी पब्लिक फोरके टेलिभिजन पुगे। प्रबन्ध निर्देशकले काठमाडौंबाहिर टेलिभिजन सञ्चालन आफैँमा चुनौतीपूर्ण भएको बताए। ‘दक्ष जनशक्तिको अभाव, विज्ञापन बजारको सङ्कुचन र सामाजिक सञ्जालको प्रभावले कठिनाइ छ,’ उनले भने। तर सामाजिक सञ्जालनै केही आम्दानीको स्रोत पनि भएको बताए। ‘द भ्यु’ कार्यक्रम चलाउँदै आएका रघुराज वाग्लेले विद्यार्थीलाई पत्रकारिताको मर्म पहिचान गर्न आग्रह गरे।

पत्रकारिता अध्यापन गराउने भरत कोइरालाले कक्षामा सिकेको विषयलाई अझ स्पष्ट र प्रभावकारी बनाउन मिडिया भ्रमण आयोजना गरिएको बताए। सोसल वर्क शिक्षिका रोशिना कुँवर पनि भ्रमणमा सहभागी थिइन्। लेकसिटी कलेजले पत्रकारिता र सामाजिक कार्यसँगै समाज विज्ञान केन्द्रमार्फत् समसामयिक विषयमा मासिक कचहरी समेत सञ्चालन गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: