
पोखरा । पोखरा-महेन्द्रपुलस्थित निट डेण्टल केयर प्रालिले पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । संस्थाको तेस्रो वार्षिकोत्सवको अवसर पारेर स्थापित यो पुरस्कार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशमार्फत सञ्चालन हुनेछ ।
यसका लागि निट डेण्टल केयरले रु. ५ लाखको अक्षयकोष स्थापना गरेको छ । मंगलबार आयोजित कार्यक्रममा फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’ र निट डेण्टलका प्रवन्ध निर्देशक वीरेन रानामगरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
पुर्ख्यौली समुदायदेखि पत्रकारिता पेशाप्रतिको योगदानलाई सम्मान गर्ने उद्देश्यका साथ स्थापना गरिएको यो पुरस्कारअन्तर्गत हाम्रो नेपालका जुनसुकै जिल्लामा रहेर पत्रकारिता गरिरहेका एक पत्रकारलाई हरेक वर्ष रु. २५ हजार ५५५ सहित सम्मान गरिनेछ ।
अक्षयकोष स्थापना पछि पुरस्कार निरन्तरता पाउनेमा आफूहरू विश्वस्त रहेको फोनिजका संघीय सचिव एमबी आस्था मगरले बताए ।
“केही पुरस्कार वर्षैपिच्छे हराउने स्थितिमा निट डेण्टल पुरस्कार भने अब नियमित हुने छ,” उनले भने ।
निट डेण्टलका प्रवन्ध निर्देशक रानामगरले समाजका विभिन्न क्षेत्रमा गर्दै आएको सामाजिक कार्यलाई पत्रकारितासम्म विस्तार गर्न पाउँदा खुशी लागेको बताए ।
“पत्रकारिता समाजको ऐना हो । समाजका सुचना नागरिकसम्म पुर्याउने महत्वपूर्ण क्षेत्र हो, त्यसैले यसमा योगदान दिनु हाम्रो सौभाग्य हो,” उनले भने ।
पहिलो वर्ष गण्डकी प्रदेशमा कार्यरत पत्रकारलाई प्राथमिकता दिइने भए पनि आगामी वर्षदेखि देशभरका पत्रकारलाई सम्मान गर्ने लक्ष्य राखिएको आयोजक संस्थाले जनाएको छ ।
