
पोखरा। नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीले पोखरामा आयोजना गर्न लागेको ‘दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता-२०८२’ को सम्पूर्ण तयारी पूरा भएको छ । शैक्षिक तथा अतिरिक्त क्रियाकलापको यो महाकुम्भमा कास्कीका ४३ विद्यालयका करिब १ हजार ५ सय विद्यार्थीले आफ्नो प्रतिभा प्रर्दशन गर्नेछन् ।
एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीका अनुसार कार्यक्रमलाई भव्य र सभ्य बनाउन गठित विभिन्न उपसमितिहरुले आफ्नो तयारी सकेका छन् । प्रतियोगिताको खेलकुद तर्फका कार्यक्रमहरू यही मंसिर २० गतेदेखि पोखरा रंगशालामा सुरु हुनेछन् भने बाल प्रतिभा पहिचान महोत्सव मंसिर २४ देखि २६ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ ।
महोत्सवको औपचारिक उद्घाटन भने मंसिर २४ गते गरिने तय भएको छ । एन प्याब्सन कास्कीले यो महोत्सवलाई केवल प्रतिस्पर्धा मात्र नभई सिकाईको केन्द्रको रूपमा विकास गरेको छ । अध्यक्ष अधिकारी भन्छन्, ‘यो महोत्सव विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने मञ्च मात्र नभई सिकाईको महत्वपूर्ण थलो पनि हो । हामीले कास्की र छिमेकी जिल्लाका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी र अभिभावकलाई समेत अवलोकनका लागि निमन्त्रणा गरेका छौं ।’
के-के छन् आकर्षण ?
एन प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थका अनुसार महोत्सवमा विद्यार्थीको चौतर्फी विकासलाई ध्यानमा राख्दै विभिन्न विधा समेटिएको छ । सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन र अभिनय, विज्ञान तथा विद्यार्थीहरुद्धारा निर्मित विज्ञान प्रविधिमा प्रदर्शनी, पात, पराल र चोयाबाट निर्मित सामग्रीहरुको प्रदर्शनी तथा प्रतियोगिता, अंग्रेजी वक्तृत्वकलालगायत कार्यक्रमहरु हुनेछन् ।
सचिव प्रेमराज अधिकारीका अनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीले अधिकांश विधामा भाग लिनेछन् भने अंग्रेजी वक्तृत्वकलामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीको सहभागिता रहनेछ ।
खेलकुदको रोमाञ्चक भिडन्त
महोत्सव अन्तर्गतको खेलकुद प्रतियोगिता पर्सी शनिबारदेखि नै सुरु हुँदैछ । कोषाध्यक्ष राजु केसीका अनुसार कक्षा १ देखि १० सम्मका छात्रहरु बीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल अल्फा एकेडेमी र सिद्धार्थ लवडेल बीच हुनेछ ।
कक्षा ११ र १२ का छात्रहरु बीच फुटसल प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेशनल क्रियशन र न्यू ग्यालेक्सी बीच हुनेछ ।
प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित बनाउन विभिन्न विधाका लागि संयोजकहरू तोकिएको छ । सामूहिक लोकनृत्यको संयोजकमा शिवराज पौडेल, एकल गायनमा अर्जुनप्रसाद अधिकारी, चित्रकलामा विष्णुप्रसाद पौडेल, कविता वाचनमा हरिराज अधिकारी र अभिनयमा विक्रम सुवेदी रहेका छन् ।
त्यस्तै, विज्ञान तथा प्रविधिमा तोलाकान्त न्यौपाने, हस्तकलामा रमेशराज पौडेल र अंग्रेजी वक्तृत्वकलामा हेम रानाभाटले संयोजन गर्नेछन् ।खेलकुद तर्फ क्रिकेटको संयोजन ज्ञानेन्द्र बहादुर थापा र फुटसलको संयोजन अर्जुन प्रसाद पाण्डेले गरिरहेका छन् ।
