पोखराको नयाँबजारमा जारी व्यापार मेलामा एकातिर बालनको रौनक, अर्कोतिर एआईको बहस

Share:

पोखरा। पोखराको नयाँबजारमा जारी ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक-२०८२’ ले बिहीबार प्रविधि र मौलिक संस्कृतिलाई एकसाथ जोड्ने अनुपम प्रयास गरेको छ। आधुनिक प्रविधिको कुम्भमेला भइरहँदा सोही मञ्चमा लोपोन्मुख लोकसंस्कृति ‘बालन नाच’ को प्रस्तुतिले दर्शकको मन जित्यो।

मेलामा बिहीबार हेम्जाको देवीस्थान भजन समूहले बालन नाच प्रस्तुत गरेको हो। रामायण, महाभारत, कृष्णचरित्र र विभिन्न पुराणका कथालाई गीतको भाकामा खैंजडी र मुजुराको तालमा प्रस्तुत गरिँदा प्रदर्शनी केन्द्रको माहोल भक्तिमय बनेको थियो।

भगवानको आरतीबाट सुरु भएको नाचमा राम, सीता, हनुमान, कृष्ण लगायतका पात्रहरूको अभिनयसहितको नृत्य देखाइएको थियो। मेलाका सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले हराउँदै गएको बालन नाचको संरक्षण गर्न र नयाँ पुस्तालाई यसबारे जानकारी दिन मेलामा यसलाई प्राथमिकता दिइएको बताए।

देवीस्थान भजन समूहका सचिव झंकनाथ तिम्सिनाले आफ्नो समूहले बालन संरक्षणका लागि विशेष अभियान नै चलाइरहेको जानकारी दिए।

एआईबारे युवाको बहस

संस्कृतिसँगै मेलामा प्रविधिको बहस पनि चल्यो। क्यान महासंघ गण्डकीका अध्यक्ष पुरुषोत्तम कुँवरका अनुसार बिहीबार नै कृत्रिम बुद्धिमत्ता (एआई) र यसका सकारात्मक तथा नकारात्मक पक्षबारे वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। क्यान इन्फोटेक अन्तर्गत सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न स्टलहरूमा दैनिक जीवन सरल बनाउने आधुनिक उपकरणहरूको प्रदर्शनी तथा बिक्री भइरहेको छ। शुक्रबार सूचना प्रविधिबारे विशेष परिसंवाद कार्यक्रम राखिएको आयोजकले जनाएको छ।

‘लगानीको संवद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजित मेला मंसिर २१ गतेसम्म चल्नेछ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले राष्ट्रिय औद्योगिक, कृषिजन्य, हस्तकला, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रको प्रवद्र्धन र बजारीकरणमा सघाउन मेला आयोजना गरिएको बताए। संघका महासचिव शोभा गौतमका अनुसार मेलामा औद्योगिक उत्पादन, हस्तकला, कृषि, पुष्प, अटो, तथा घरायसी सरसामानदेखि लत्ताकपडासम्मको बिक्री वितरणको व्यवस्था मिलाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: