तनाव घटाउन ताङतिङ पुग्यो पोखरा-९ को टोली, ३१ सय मिटरको उचाइमा पर्यटन प्रवर्द्धन

Share:

पोखरा । दैनिक जीवनको दौडधुप र तनावलाई व्यवस्थापन गर्न तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका वडा नं.९ को टोली कास्कीको पर्यटकीय गाउँ ताङतिङ पुगेको छ। वडास्तरीय दलित सञ्जाल पोखरा-९ को आयोजना तथा वडा कार्यालयको सहकार्यमा मादी गाउँपालिकाको ताङतिङमा दुई दिने ुतनाव व्यवस्थापन तथा आन्तरिक पर्यटन प्रवर्द्धनु कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रशिक्षक भक्तराज रसाईलीले तनाव व्यवस्थापनसम्बन्धी सहजीकरण गरेका थिए। उनले ‘चिन्ताले मानिसलाई चितासम्म पुर्‍याउँछ’ भन्ने उखानलाई चरितार्थ गर्दै तनावको कारण बुझेर समयमै व्यवस्थापन गर्न सके जीवन सहज हुने उपायहरू सिकाएका थिए।

कार्यक्रमका संयोजक एवं वडा सदस्य गिता चम्राकारले वडाबासी र सञ्जालका सदस्यहरूको मानसिक स्वास्थ्य र पुनर्ताजगीका लागि यो कार्यक्रम फलदायी भएको बताइन्।

तालिमसँगै टोलीले ताङतिङ गाउँको अवलोकन भ्रमण समेत गरेको छ। सहभागीहरूले ताङतिङका झरना, गुम्बा र सेल्फी डाँडाको अवलोकन गरेका थिए।

साथै, केही सहभागीले गाउँबाट करिब ११ किलोमिटर माथि ३१ सय मिटरको उचाइमा रहेको पर्यटकीय गन्तव्य ‘कप्रुडाँडा’ सम्म पदयात्रा गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएका छन्।

कार्यक्रममा पोखरा-९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, वडा सदस्य नन्दराम गिरी, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी, स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष कृष्ण रानाभाट लगायतको सहभागिता रहेको थियो।
सञ्जालकी अध्यक्ष सपना विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रुकविर परियारले स्वागत र विमला परियारले संचालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: