२१औँ लेखनाथ महोत्सवको तयारी तीव्र, ९५ प्रतिशत स्टल बुकिङ सम्पन्न

Share:

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ३ गतेदेखि १४ गतेसम्म आयोजना गर्न लागिएको २१औँ लेखनाथ महोत्सवका लागि तयारीलाई तीव्र बनाएको छ। महोत्सवलाई व्यवस्थित र सफल बनाउन १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय सल्लाहकार समिति, ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति तथा करिब ३०० सदस्यीय मूल समारोह समिति गठन गरिइसकेको संघकी अध्यक्ष तथा महोत्सव मूल संयोजक जानुका पराजुलीले जानकारी दिइन्।

महोत्सवमा रहने ३३५ वटा स्टलमध्ये ९५ प्रतिशत स्टल बुकिङ भइसकेको संघले जनाएको छ। कार्यसम्पादन, सुरक्षा, सहकारी समन्वय, विद्यालयस्तरीय कार्यक्रम, झाँकी-र्‍याली, पार्किङ, युवा परिचालन, टोल विकास समन्वय, महोत्सव सुपरिवेक्षण लगायतका उपसमितिहरूसँग निरन्तर छलफल र अन्तर्क्रिया गर्दै तयारीलाई अन्तिम रुप दिइएको छ। समितिहरूले जिम्मेवारीअनुसार उत्साहपूर्वक खटिने प्रतिबद्धता व्यक्त गरेका छन्।

बहुआयामिक प्रदर्शनी र विविध आकर्षण

महोत्सवका प्रमुख आकर्षणका रुपमा औद्योगिक व्यापार मेला, हस्तकलाका सामग्री, दैनिक उपभोग्य वस्तु, फेन्सी तथा कस्मेटिक, विद्युतीय उपकरण, फर्निचर, भान्साका सामान, स्वास्थ्य-शिक्षा सम्बन्धी सामग्री, सूचना-प्रविधि उपकरण, अटोमोबाइल प्रदर्शनी, फूड फेस्टिभल लगायतका विषयवस्तु समेटिने छन्।

यसैगरी लेखनाथ क्षेत्रका सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविक विविधता तथा दुग्धजन्य उत्पादनको बिक्री तथा प्रदर्शनी महोत्सवको महत्वपूर्ण आकर्षण बन्नेछ।

महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य-कला-संस्कृतिको संरक्षण, साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास प्रचारप्रसार समितिका संयोजक ध्रुबबाबु भट्टराईले व्यक्त गरे।

नेपाल उद्योग वाणिज्य महासंघसँग संयुक्त रुपमा आयोजना हुने यो महोत्सवलाई गृहलक्ष्मी ग्यास कम्पनी प्रालिले मुख्य प्रायोजन गरेको छ। नर्भिक हस्पिटलसहितको बीएलसी ग्रुप, पशुपति बिस्कुट, हेटौडा डेरी सह-प्रायोजक छन् भने पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रर्वद्धकका रुपमा रहेका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: