२२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा पोखरा महानगरको सम्मान

Share:

पोखरा । नेपाल सरकारद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य सेवा प्रणालीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरूलाई मेरुदण्ड मानिँदै आएको छ। गाउँ-टोलमै पुगेर स्वास्थ्यसम्बन्धी ज्ञान, सल्लाह र सेवा प्रदान गर्दै उनीहरूले स्थानीय स्वास्थ्य सुधारमा पुर्‍याउँदै आएको प्रभाव आज देशभर प्रशंसनीय बनेको छ। गर्भ परीक्षणदेखि सुरक्षित मातृत्व, आइरन चक्की वितरण, नियमित स्वास्थ्य जाँचका लागि परामर्श, खोप कार्यक्रम, बालबालिकामा रुघाखोकी-निमोनिया पहिचान तथा पोषण सल्लाह-उनीहरूको भूमिकाले समुदायमा स्वास्थ्य पहुँचलाई असाधारण रूपमा मजबुत बनाएको छ।

पोखरामा ६५६ स्वयंसेविकाको सक्रिय सेवा

पोखरा महानगरपालिकामा हाल ६५६ जना महिला स्वयंसेविका सक्रिय रहेका छन्। घर-घरमा पुगेर खोप, भिटामिन ‘ए’ वितरण, पोषण अभिवृद्धि कार्यक्रम तथा सरसफाइ, सुरक्षित खानेपानी, महामारी व्यवस्थापनजस्ता संवेदनशील विषयमा जनचेतना फैलाउँदै उनीहरूले नगरवासीको स्वास्थ्य सुरक्षा बलियो बनाइरहेका छन्।

सामुदायिक स्तरमा परिवार नियोजनका अस्थायी साधन वितरण, रोगको रोकथाम, जोखिम पहिचान र स्वास्थ्य संस्था पहुँचमा अभिवृद्धि गराउने कार्यमा उनीहरूको योगदान अमूल्य रहेको पोखरा महानगरले जनाएको छ। २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सबै स्वयंसेविकालाई हार्दिक शुभकामना व्यक्त गर्दै उनीहरूको अथक सेवाप्रति कृतज्ञता व्यक्त गरे।

उनले भने, “तपाईंहरूको साहस, समर्पण र सेवा भावना नै हाम्रो स्वास्थ्य प्रणालीको आधार हो। पोखरा महानगरपालिका तपाईंहरूको क्षमता अभिवृद्धि, आवश्यक तालिम तथा कार्यका लागि आवश्यक उपकरण व्यवस्थापनमा प्रतिबद्ध छ।”

आचार्यका अनुसार महानगरले स्वयंसेविकाहरूको भूमिकालाई थप सुदृढ बनाउन नीति तथा कार्यक्रममार्फत निरन्तर सहयोग गर्नेछ।

समुदाय र स्वास्थ्य चौकीलाई जोड्ने मुख्य कडीका रूपमा स्वयंसेविकाहरूले पाँच वर्षमुनिका बालबालिकाको पोषण, खोप तथा रोग पहिचानमा निभाउँदै आएको भूमिका पोखराको स्वास्थ्य सूचक सुधारमा निर्णायक रहँदै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: