
पोखरा । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा चलिरहेको लागू औषध कारोबारबारे प्राप्त सूचनाको आधारमा गरेको विशेष अपरेशनबाट ३१.८ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय शिशुवा र लागू औषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलीले मंसिर १९ गते दिनभर चलाएको खोज-अनुसन्धान अभियानमार्फत लागूपदार्थ, मोबाइल फोन र डिजिटल मेसिनसमेत बरामद गरेको हो।
गत शुक्रबार दिउँसो करिब २ बजे पोखरा महानगर-३१, बेगनासका ३० वर्षीय एक पुरुषबाट १.८ ग्राम ब्राउनसुगरजस्तो पदार्थ र मोबाइल बरामद गरिएको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानमा सो घटनामा २१ वर्षीय एक अन्य युवकको संलग्नतादेखिएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उही दिन साँझ करिब ४ बजे पोखरा-२७ रिठेपानीस्थित एक व्यक्तिको घरमा छापामारी ११ ग्राम लागूपदार्थ बरामद गरिएको हो। अनुसन्धानका क्रममा ३९ वर्षीय अर्का व्यक्ति समेत संलग्न देखिएका कारण उनी पनि नियन्त्रणमा लिइएको प्रहरीको जानकारी छ।
साँझ ६ बजे पोखरा-२६ जलधारेका ४३ वर्षीय एक व्यक्तिको साथबाट १९ ग्राम ब्राउनसुगरजस्तो पदार्थ, डिजिटल मेसिन र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। जम्मा बरामद सामग्रीमा ३१.८ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ, डिजिटल मेसिन १ थान तथा २ थान मोबाइल फोन रहेका छन् ।
प्रहरीका अनुसार सबै पक्राउ परेकाहरूमाथि कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई लागूपदार्थसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।
