पोखरामा ‘हिमालय क्रिकेट एकेडेमी कप’ हुँदै: १२ विद्यालय भिड्ने, उत्कृष्ट खेलाडीलाई निःशुल्क प्रशिक्षणको अवसर

Share:

पोखरा । पोखरामा विद्यालय स्तरबाटै क्रिकेटको जग बलियो बनाउने उद्देश्यका साथ ‘हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु-१६ अन्तर विद्यालय पुरुष टि-२० क्रिकेट प्रतियोगिता’ हुने भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा हिमालय क्रिकेट एकेडेमीको मुख्य प्रायोजनमा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता आगामी मंसिर २५ देखि पुष ६ गतेसम्म चल्नेछ ।

१२ विद्यालयबीच महाभिडन्त

प्रतियोगितामा कास्की जिल्लाका १२ प्रतिष्ठित विद्यालयहरूको सहभागिता रहने प्रतियोगिता संयोजक बिरेन्द्र पुनले जानकारी दिए । उपाधिका लागि ग्लोबल कलेजियट स्कुल, रत्नज्योति सेकेण्डरी स्कुल, कुमुदिनी होम्स, प्रतिभा सेकेण्डरी स्कुल, हार्वड सेकेण्डरी स्कुल, त्रिवेणी सेकेण्डरी स्कुल, हिमालयन सेकेण्डरी स्कुल, नविन मावि, जनप्रकाश मावि, टप्स सेकेण्डरी स्कुल, डायमण्ड सेकेण्डरी स्कुल र लभिन रेसिडेन्सल स्कुल मैदानमा उत्रिनेछन् । सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । हरेक समूहको विजेता टोली सोझै सेमिफाइनलमा प्रवेश गर्नेछ भने फाइनल पुग्ने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो प्रतियोगितालाई कास्की जिल्लाको यु-१६ पुरुष क्रिकेट टोली छनोटको मुख्य आधारका रूपमा लिइएको छ । आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई बन्द प्रशिक्षण (Closed Camp) मा राखिनेछ । प्रशिक्षक, चयनकर्ता र क्रिकेट विश्लेषकहरूको निगरानीमा प्राविधिक, मानसिक र शारीरिक क्षमता परीक्षणपछि ‘च्यालेन्जर कप’ आयोजना गरिनेछ । सोही च्यालेन्जर कपको प्रदर्शनका आधारमा कास्की जिल्लाको अन्तिम यु-१६ टोली घोषणा गरिने संयोजक पुनले बताए । “हाम्रो लक्ष्य विद्यालय स्तरमै लुकेर रहेका प्रतिभा पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी बनाउनु हो,” पुनले भने ।

प्रतियोगितालाई थप रोमाञ्चक बनाउन र खेलाडीहरूलाई प्रोत्साहन गर्न मुख्य प्रायोजक हिमालय क्रिकेट एकेडेमीले आकर्षक छात्रवृत्तिको घोषणा गरेको छ । एकेडेमीका अध्यक्ष शक्ति बरालका अनुसार प्रतियोगिताको ‘प्लेयर अफ दी सिरिज’ र ‘उदयीमान खेलाडी’ (Emerging Player) लाई एकेडेमीको भर्ना शुल्कमा शतप्रतिशत (१००%) छुट दिइनेछ । त्यस्तै, ‘बेस्ट बलर’ र ‘बेस्ट ब्याटर’ लाई ५० प्रतिशत तथा हरेक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

विजेता तथा उपविजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । टि-२० फर्म्याटमा हुने यो प्रतियोगिताले पोखरामा आधुनिक क्रिकेटको विकास र युवा खेलाडीहरूको क्षमता अभिवृद्धिमा कोसेढुंगा सावित हुने विश्वास आयोजकले लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: