
काठमाडौं । नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) ले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हात पारेको छ । मोटर स्पोर्ट्सको विश्व छाता संगठन ‘अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन’ (फआईए) द्वारा प्रदान गरिने प्रतिष्ठित ‘फआईए प्रेसिडेन्सियल अवार्ड’ (FIA Presidential Award) का लागि नासा नेपाल एसिया प्यासिफिक क्षेत्रबाट उत्कृष्ट ठहरिएको हो ।
फआईएका अध्यक्ष मोहम्मद बिन सुलायमले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत नतिजा सार्वजनिक गर्दै नासा नेपाललाई बधाई दिएका छन् । विश्वभरका १५१ देशका स्पोर्ट्स फेडेरेसनहरूमध्ये महादेशीय रूपमा जम्मा ६ वटा फेडेरेसनहरू मात्र यो अवार्डको अन्तिम सूचीमा परेका छन्, जसमा एसिया प्यासिफिक क्षेत्रको प्रतिनिधित्व नेपालले गर्नेछ ।
अस्ट्रेलिया र श्रीलंकालाई पछि पार्दै सफलता
यस अवार्डका लागि एसिया प्यासिफिक क्षेत्रबाट अस्ट्रेलिया, श्रीलंका लगायत आधा दर्जन देशले दाबी पेश गरेका थिए । तर, ती शक्तिशाली राष्ट्रहरूलाई पछि पार्दै नासा नेपाल उत्कृष्ट सूचीमा पर्न सफल भएको हो । फआईएले हरेक वर्ष सदस्य संघहरूद्वारा सञ्चालन गरिएका परियोजना, सफल इभेन्ट, विशेष अभियान र संस्थागत क्रियाशीलताको विस्तृत मूल्यांकन गरी महादेशीय स्तरमा उत्कृष्ट फेडेरेसन चयन गर्ने गर्दछ ।
नासा नेपालको यो सफलताको मुख्य जस ‘ग्रासरुट टु ग्लोरी’ (Grassroot to Glory) अभियानलाई जान्छ । संघको नवौं साधारण सभाबाट पारित ‘नासा नेपाल: टोलदेखि वर्ल्डसम्म’ अवधारणा अन्तर्गत सञ्चालित यो परियोजनाले आधारभूत तहदेखि नै मोटर स्पोर्ट्सको विकासमा जोड दिएको थियो ।
विशेष गरी महिला, युवा, विद्यार्थी तथा शैक्षिक क्षेत्रको सहभागिता, सार्वजनिक संलग्नता र खेलको जग (फाउन्डेसन) निर्माणमा नासा नेपालले खेलेको भूमिकालाई फआईएले उच्च मूल्यांकन गरेको छ ।
उज्बेकिस्तानमा सम्मान र अन्तिम प्रतिस्पर्धा
नासा नेपाललाई आगामी डिसेम्बर ९ देखि १२ सम्म उज्बेकिस्तानको राजधानी तासकेन्तमा हुने फआईएको साधारण सभामा उक्त अवार्ड प्रदान गरिनेछ । यद्यपि, प्रतिस्पर्धा अझै सकिएको छैन । एसिया प्यासिफिक, मिडल इस्ट, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र युरोप गरी ६ महादेशका उत्कृष्ट फेडेरेसनहरूमध्येबाट ‘नेसनल मोटर स्पोर्ट्स एचिभमेन्ट अवार्ड’ का लागि एक सर्वोत्कृष्ट (Global Winner) फेडेरेसन घोषणा गर्न बाँकी छ ।
नेपालले अब विश्व उपाधिका लागि अन्य ५ महादेशका विजेताहरूसँग प्रतिस्पर्धा गर्नेछ । सन् १९०४ मा स्थापना भएको र फर्मुला वन (F1) जस्ता विश्वप्रसिद्ध खेलहरूको व्यवस्थापन गर्ने फआईएमा नासा नेपाल २०१२ देखि पूर्ण सदस्यका रूपमा आबद्ध छ ।
कमजोर पूर्वाधार, सीमित स्रोत–साधन र प्रविधिको अभावका बाबजुद पनि नासा नेपाल एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट सूचीमा पर्नु समग्र नेपाली खेलकुद क्षेत्रकै लागि गौरवको विषय भएको संघले जनाएको छ । यो उपलब्धि खेलाडी, प्राविधिक र पदाधिकारीहरूको निरन्तरको मिहिनेतको प्रतिफल भएको नासा नेपालको भनाइ छ ।
