पोखरामा जारी विश्व जुनियर टेनिस : सुनिरा र शिवाली क्वाटरफाइनलमा, १६ देशका खेलाडीको रोमाञ्चक भिडन्त

Share:

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी ‘आइटिएफ जे-३० वर्ल्ड टेनिस टुर सर्किट-२’ अन्तर्गत नेपालका दुई होनहार खेलाडी सुनिरा थापा र शिवाली गुरुङले सानदार प्रदर्शन गरेका छन्। मंगलबार सम्पन्न गर्ल्स सिंगल्सतर्फको खेलमा विदेशी खेलाडीलाई पाखा लगाउँदै सुनिरा र शिवालीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका हुन्। १६ देशका ८० खेलाडीको सहभागिता रहेको यो प्रतियोगितामा नेपाली किशोरीहरूको प्रदर्शन लोभलाग्दो रह्यो।

सुनिरा र शिवालीको उत्कृष्ट लय

गर्ल्स सिंगल्स (राउन्ड अफ १६) अन्तर्गतको खेलमा नेपालकी सुनिरा थापाले चिनियाँ खेलाडी युनर चिमाथि सहज जित निकालिन्। उनले ६–३ र ६–१ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको यात्रा तय गरिन्। यस्तै, नेपालकी अर्की खेलाडी शिवाली गुरुङले युरोपेली चुनौती पन्छाउँदै जित हासिल गरिन्। शिवालीले बुल्गेरियाकी सोफिया जाखार्किभलाई ६–४ र ६–१ को सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेकी हुन्।

अन्य खेलमा भारतकी कार्तिका पद्मकुमार, ध्रुती गुन्डू, झानवी ताम्मिनेदी, शतक्शिका सहायाक र ताइपेइकी के–चि ह्सुले पनि आ–आफ्ना खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेका छन्।

ब्वाइजतर्फ सक्षम र शाश्वतको चुनौती समाप्त

ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) मा भने नेपालका लागि नतिजा सुखद रहेन। नेपालका सक्षम विक्रम शाहले भारतका अर्श काथुरियाविरुद्ध कडा टक्कर दिए पनि जित निकाल्न सकेनन्। तीन सेटसम्म लम्बिएको रोमाञ्चक खेलमा सक्षम ७–६(३), ६–७(५) र ६–४ ले पराजित भए।

यस्तै, नेपालका शाश्वत बज्राचार्य भारतका निकुञ्ज खुरानासँग ६–१, ६–३ ले पराजित हुँदै बाहिरिए। ब्वाइजतर्फ चीनका जियालियाब गुओ, चुआन डिब र श्रीलंकाका गानुका फर्नान्डोले आ–आफ्ना खेल जितेर अघिल्लो चरणमा स्थान बनाएका छन्।

ब्वाइज डबल्सतर्फ नेपालका असब सम्राट हाडा र श्रीलंकाका रेहान गुणवर्धनाको जोडीले बंगलादेशका महाद बिन मालेक र तनभिरको जोडीलाई ६–१, ३–६, (१०–७) को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ।

विजेतालाई ३० अंक

शनिबारसम्म चल्ने यो प्रतियोगितामा नेपालसहित अमेरिका, चीन, भारत, बेलायत, अष्ट्रेलिया, जापान लगायत १६ देशका खेलाडीहरू सहभागी छन्। प्रतियोगिताका विजेताले ३० अंक, उपविजेताले १८ अंक र सेमिफाइनलिस्टले ९ अंक प्राप्त गर्नेछन्। करिब १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको यो प्रतियोगिताले पोखराको खेल पर्यटनमा समेत टेवा पुर्‍याउने विश्वास आयोजक कास्की जिल्ला टेनिस संघले लिएको छ।

कमेन्ट गर्नुहोस्
Share: