पोखरामा पैदल यात्रीको सुरक्षाका लागि ‘एस एल सी’ अभियान, जिरो किमिदेखि हेमजासम्म विशेष निगरानी

Share:

पोखरा । बढ्दो सवारी दुर्घटना र पैदल यात्रीको असुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ‘एस एल सी’ (स्टप, लुक, क्रस) अभियान सुरु गरेको छ । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा-१ बगरसँगको सहकार्यमा बागलुङ बसपार्कबाट यो सचेतनामूलक अभियानको थालनी गरिएको हो ।

पैदल यात्रीले सुरक्षित तवरले बाटो कसरी काट्ने भन्ने विषयमा केन्द्रित यो अभियान विशेष गरी पोखराको जिरो किलोमिटरदेखि हेमजासम्मको सडक खण्डमा केन्द्रित रहनेछ । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (SP) नविन कार्कीले कास्कीमा हुने सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत पैदल यात्री रहेको तथ्याङ्क सार्वजनिक गरे । अझ चिन्ताजनक विषय त के छ भने, ती मृत्युमध्ये ५० प्रतिशत घटना जिरो किमिदेखि हेमजा सडक खण्डमा हुने गरेका छन् ।

एसपी कार्कीले भने, “समग्र दुर्घटनाको विश्लेषण गर्दा पैदल यात्रीको मृत्यु दर उच्च देखियो । यदि पैदल यात्रीलाई सुरक्षित तरिकाले बाटो काट्न (Stop, Look, Cross) सिकाउन सकियो भने मानवीय क्षति न्यूनीकरण गर्न सकिन्छ भन्ने विश्वासका साथ यो अभियान चलाएका हौं ।”

अभियानमा विन्ध्यवासिनी मावि र सगरमाथ माविका विद्यार्थीहरूले प्ले कार्डसहित सडक पार गर्ने तरिका प्रदर्शन गरेका थिए । उनीहरूले ‘बाटो काट्दा मोबाइल प्रयोग नगरौं’, ‘हतारमा सडक पार नगरौं’, ‘दाहिने किनारबाट हिडौं’ र ‘बालबच्चालाई सडकमा एक्लै नछोडौं’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सर्वसाधारणलाई सचेत गराए ।

कार्यक्रम सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव कृष्ण बहादुर तामाङले गरेका थिए । यसअघि हेमजाको मिलनचोकमा पनि यस्तै अभियान सञ्चालन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: