
पोखरा । ‘पोखरा भ्रमण वर्ष २०२५’ लाई लक्षित गर्दै नेपालको पर्यटन प्रवर्द्धन गर्न भारतीय टुर अपरेटर र चर्चित सोसल मिडिया इन्फ्लुएन्सरहरूको टोली नेपाल आइपुगेको छ । ‘सेकेन्ड इन्डिया-नेपाल टुरिज्म मिट’ अन्तर्गत गन्तव्य प्रवर्द्धनका लागि यो टोली आज (आइतबार) नेपाल आएको हो । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र पोखरा भ्रमण वर्ष २०२५ को संयुक्त आयोजना एवं सहकार्यमा भारतीय र बाह्य पर्यटकको संख्या बढाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो । प्रवर्द्धनात्मक अभियानका लागि आएको भारतीय टोलीलाई पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा भव्य स्वागत गरिएको थियो । स्वागतपछि टोलीलाई स्थलमार्ग हुँदै चितवनको पर्यटकीय नगरी सौराहा ल्याइएको छ ।
चितवन पुगेको टोलीलाई होटेल संघ नेपाल (HAN) चितवनले स्वागत गर्दै दुई देशबीचको पर्यटकीय साझेदारीका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा होटेल संघ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे, पर्यटन व्यवसायी वासु ढुङ्गाना, नेपाल पर्यटन बोर्डका प्रेम भट्टराई र सन्कृत टुर्स भारतका अभिषेक सन्कृत लगायतले नेपाल र भारतबीचको पर्यटन सम्भावना र सहकार्यबारे चर्चा गरेका थिए । सो अवसरमा सौराहाको पर्यटकीय आकर्षण झल्काउने विशेष भिडियो सामाग्री समेत प्रस्तुत गरिएको महासचिव सापकोटाले जानकारी दिए।
यस्तो छ भ्रमण तालिका
नेपाल आएको भारतीय प्रवर्द्धनात्मक टोलीले गण्डकी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरूको अवलोकन भ्रमण गर्नेछ । महासचिव सापकोटाका अनुसार टोलीको भ्रमण तालिका यस प्रकार रहेको छः
-पुस १ गते (सोमबार): तनहुँको बन्दीपुर हुँदै कास्कीको बेगनास तालको भ्रमण ।
-पुस २ गते (मंगलबार): पर्वत र बागलुङका पर्यटकीय क्षेत्रको अवलोकन ।
-पुस ३ गते (बुधबार): पोखराको पुम्दीकोट भ्रमण र साँझ ‘होटेल पोखरा ग्रान्ड’ मा आयोजना हुने मुख्य ‘टुरिज्म मिट’ मा सहभागिता ।
-पुस ४ गते (बिहीबार): पोखराबाट पाल्पा हुँदै सुनौली नाका भएर भारत फिर्ता ।
यो भ्रमण र मिटले ‘पोखरा भ्रमण वर्ष २०२५’ लाई सफल बनाउन तथा भारतीय पर्यटकहरूमाझ नेपालका गन्तव्यहरूको प्रचारप्रसार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
