दमौलीमा चार लेनको अत्याधुनिक पुल वैशाखभित्रै सम्पन्न हुने तयारी, ७४ प्रतिशत काम सकियो

Share:

पोखरा। मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा मादी नदीमाथि निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ। व्यास नगरपालिका-४ र ५ जोड्ने उक्त पुलको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ।

योजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार पुलको अब २६ प्रतिशत काम मात्र बाँकी छ। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुल निर्माणको ठेक्का अवधि गत भदौ २१ गते सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप गरिएको हो। यद्यपि निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै काम सक्ने प्रतिबद्धता जनाएको छ।

सूचना अधिकारी पाण्डेका अनुसार पुल निर्माणका लागि २०७९ साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो। हालसम्म पुलको ७० प्रतिशत वित्तीय प्रगति भएको छ।

पृथ्वी राजमार्गकै सबैभन्दा लामो आर्क डिजाइन

तीन सय १५ मिटर लामो यो पुलमा छवटा स्पान रहनेछन्। पुलको वारिपारि रहेका चार ‘प्रि-स्ट्रेस्ड बक्स गडर’ स्पानको काम पूरा भइसकेको छ। फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै पाण्डेले बीचका दुईवटा स्पान भने ६३ मिटर लामो कङ्क्रिट नेचर आर्क ब्रिज भएको र त्यसको काम तीव्र रूपमा भइरहेको बताए।

करिब १ अर्ब २१ करोड रुपैयाँ (भ्याटसहित) लागतमा निर्माण भइरहेको यो पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक संरचना भएको नेपालकै पहिलो पुल भएको दाबी गरिएको छ।

सडकतर्फ ८८ प्रतिशत प्रगति

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत हालसम्म ८८ प्रतिशत काम सम्पन्न भइसकेको छ। कालोपत्रको काम पूरा भइसकेको र सडकका अन्तिम चरणका काम मात्र बाँकी रहेको सूचना अधिकारी पाण्डेले जानकारी दिए। पुलको पहुँचमार्ग निर्माण भने हालै सुरु गरिएको छ।

निर्माण कम्पनीका व्यवस्थापक दिनेशकुमार श्रेष्ठले निर्धारित म्याद असार १९ गते रहे पनि वैशाखमै पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको बताए। हाल पुल निर्माणमा दैनिक करिब १५० जना कामदार परिचालित छन्।

पृथ्वी राजमार्गकै सबैभन्दा लामो आर्क डिजाइनको यो चार लेन पुल हाल नदीमाथि रहेको ३७० मिटर लामो दुई लेनको पुलभन्दा करिब ५० मिटर पर निर्माण भइरहेको छ। नयाँ पुल सञ्चालनमा आएपछि दमौली बजार क्षेत्रको यातायात व्यवस्थापन थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: