आजबाट २१औँ लेखनाथ महोत्सव सुरु, संस्कृति र स्थानीय उत्पादनको भव्य उत्सव

Share:

पोखरा । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने मूल नारासहित २१औँ संस्करणको लेखनाथ महोत्सव आजदेखि लेखनाथमा सुरु हुँदैछ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार विशेष समारोहबीच महोत्सवको उद्घाटन गरेको महोत्सवकी मूल संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले जानकारी दिइन् ।

पराजुलीका अनुसार लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु गरेको कार्यक्रमलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रूपमा लेखनाथ महोत्सव आयोजना गर्दै आएको हो । विभिन्न जातजाति, भाषा र संस्कृतिलाई एउटै थलोमा प्रस्तुत गर्दै लेखनाथ क्षेत्रको पहिचान स्थापित गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको उनले बताइन् ।

महोत्सवमार्फत स्थानीय उत्पादनको बजारीकरण, कृषि सामग्री, महिला उद्यमीका उत्पादनको प्रदर्शनी तथा बिक्री-वितरण गरिने पराजुलीले जानकारी दिइन् ।

जलपरीदेखि कन्सर्टसम्म, विविध आकर्षण

पुस ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा दर्शकका लागि विविध आकर्षण समावेश गरिएको महोत्सवका प्रचार-प्रसार संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका महासचिव ध्रुवबाबु भट्टराईले बताए ।

महोत्सवका मुख्य आकर्षणमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक तथा आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा,घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी,महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य तथा शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, विभिन्न जातजातिको मौलिक संस्कृति झल्कने झाँकी र्याली, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी, युवा लक्षित पप तथा सुगम सङ्गीत कन्सर्ट रहेका छन् ।

यसैगरी महोत्सवमा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, बीउविजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल तथा अटोमोबाइल प्रदर्शनीसमेत रहनेछ । पर्यटन प्रवर्द्धन सामग्री र वित्तीय सेवासम्बन्धी जानकारीसमेत महोत्सवबाट प्राप्त गर्न सकिनेछ ।

३३५ स्टल, २.५ लाख दर्शकको अपेक्षा

महोत्सवमा उद्योग, व्यापार, व्यवसाय, सेवा तथा सूचना मूलक गरी ३ सय ३५ वटा स्टल रहनेछन् । महोत्सव अवलोकन गर्न करिब २ लाख ५० हजार दर्शक आउने अपेक्षा गरिएको छ भने करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

आयोजकका अनुसार महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी, ८५ लाख रुपैयाँ खर्च भई करिब १० लाख रुपैयाँ बचत हुने प्रक्षेपण गरिएको छ ।

पुस ३ देखि १४ गतेसम्म सञ्चालन हुने महोत्सवको मुख्य प्रायोजक गृहलक्ष्मी ग्यास कम्पनी प्रा.लि. रहेको छ । सह-प्रायोजकमा बीएलसी ग्रुप (नर्भिक अस्पताल), पशुपति बिस्कुट र हेटौडा डेरी रहेका छन् । महोत्सवका प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको जानकारी महोत्सवका प्रायोजक व्यवस्थापन उप-समितिका संयोजक विक्रम कर्माचार्यले दिए ।

कमेन्ट गर्नुहोस्
Share: