
पोखरा । संसारका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमै अवस्थित छन्। तीमध्ये पनि ३ वटा हिमाल पोखराबाट सामान्य टिसर्ट लगाएरै अवलोकन गर्न सकिने तथ्यले नेपाललाई हिमालको देश मात्र नभई विश्वकै अनुपम प्राकृतिक सम्पदाको केन्द्रका रूपमा चिनाएको छ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली आरोही मोरिस हेर्जोग र उनको टोलीले अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण गरेका थिए। यो ऐतिहासिक आरोहण सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गर्नुभन्दा पनि अगाडि सम्पन्न भएको थियो। अन्नपूर्णको सफल आरोहणपछि मोरिस हेर्जोगले लेखेको पुस्तक ANNAPURNA हालसम्म ६० भन्दा बढी भाषामा प्रकाशित भइसकेको छ भने १ करोडभन्दा बढी प्रतिहरू बिक्री भइसकेका छन्। यो पुस्तक विश्वप्रसिद्ध बेस्टसेलर कृतिका रूपमा परिचित छ।
यति ख्यातिप्राप्त पुस्तक अन्नपूर्ण हिमालको काखमा रहेको नेपालमा नेपाली भाषामा भने हालसम्म प्रकाशित हुन सकेको थिएन। अन्नपूर्ण हिमालको पहिलो आरोहणको ७५औँ वर्षगाँठ मनाइरहेको यस ऐतिहासिक अवसरमा भने पहिलोपटक ANNAPURNA Premier 8000 पुस्तकको नेपाली संस्करण सार्वजनिक गरिएको छ।
फ्रान्सको दूतावास, नेपाल तथा एलायन्स फ्राँसेज काठमाडौँको आयोजनामा उक्त पुस्तकको नेपाली अनुवादको औपचारिक विमोचन कार्यक्रम सम्पन्न भएको हो। पुस्तकको नेपाली संस्करण फ्रान्सेली दूतावासको आर्थिक सहयोगमा अनुवाद गरिएको हो भने फाइन प्रिन्टले यसलाई प्रकाशित गरेको हो।
यस अवसरमा विश्वविख्यात कृतिको नेपाली संस्करण विमोचन गर्ने अवसर प्रदान गरेकोमा नेपालस्थित फ्रान्सेली राजदूतावास, महामहिम राजदूत तथा सम्पूर्ण टोलीप्रति आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

