
काठमाडौं । हजारौँ कार्यकर्ता उतारेर सल्लाघारीमा भव्य उद्घाटन गरेको नेकपा (एमाले) ले भृकुटीमण्डपमा केपी शर्मा ओलीलाई पुनः अध्यक्षमा निर्वाचित गराउँदै एघारौँ महाधिवेशन समापन गरेको छ। उद्घाटन सत्रमा देखिएको संयम समापनतिर आइपुग्दा आक्रामकतामा बदलिएको देखियो। नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा भए पनि अधिकांश पदमा ओली प्यानल विजयी भयो।
पुनर्विजयसँगै ओलीको स्वर मात्रै होइन, राजनीतिक आक्रोश पनि चर्किएको भृकुटीमण्डपमा स्पष्ट देखिन्थ्यो। लिखित भाषणबाट टाढा रहेका ओलीले सरकार, जेनजी आन्दोलन र सम्भावित षड्यन्त्रप्रति आक्रामक चेतावनी दिए।
“एमाले नेतृत्वमाथि छोयो भने देश ठप्प हुन्छ,” ओलीको चेतावनी
अध्यक्षमा निर्वाचित भएपछि ओलीले एमालेमाथि भौतिक आक्रमण र जाली मुद्दाको तयारी भइरहेको ‘सूचना’ आफूले पाएको दाबी गरे। “एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ,” भन्दै उनले कार्यकर्तालाई तयारी अवस्थामा बस्न निर्देशन दिए।
भदौ २४ गते आफू नेतृत्वको सरकारलाई ‘धोका’ भएको निष्कर्ष निकाल्दै ओलीले अब राज्य संयन्त्रप्रति भरोसा नगर्ने स्पष्ट पारे। “एक हप्ताभित्र टोल–टोलमा सुरक्षा टिम बनाउनुहोस्, आफ्नो सुरक्षा आफैं गर्नुपर्छ,” उनको निर्देशन थियो।
जेनजी आन्दोलनलाई ‘भद्दा नाटक’ को संज्ञा
ओलीले जेनजी आन्दोलन र सरकारबीच भएको भनिएको सहमतिलाई ‘सम्झौता होइन, भद्दा नाटक’ भन्दै एमालेले अस्वीकार गर्ने घोषणा गरे। “लागू हुन दिँदैनौं,” ओलीको स्पष्ट सन्देश थियो।
महाधिवेशनले संसद् पुनःस्थापनाको मागलाई केन्द्रीय एजेन्डा बनाएको छ। ओलीले असंवैधानिक रूपमा मिचिएको संविधानलाई सही बाटोमा फर्काउन एमाले सडक र सदन दुवैबाट लड्ने बताए।
पोखरेल समूह किनाराकृत, ओली प्यानलको वर्चस्व
३०२ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारी चयन भएको महाधिवेशनमा ओली प्यानलको स्पष्ट वर्चस्व रह्यो। गोकर्ण विष्ट र योगेश भट्टराईबाहेक सबै पदाधिकारी ओली प्यानलकै विजयी भए।
ईश्वर पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भए पनि शपथ ग्रहणमा उपस्थित भएनन्। पोखरेल प्यानलका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा समेत पराजित भए।
पद्यमा अर्याल पदाधिकारी जित्ने एकमात्र महिला बनिन्। उपमहासचिव पदमा विष्णु रिमाल पराजित भए, जसले पार्टीभित्र उनको नेटवर्क कमजोर रहेको सन्देश दिएको छ।
महाधिवेशनबाट युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र केशव बडाल सक्रिय राजनीतिबाट बाहिरिए। ओलीले उनीहरूलाई पुस्तान्तरण र हस्तान्तरणको अभ्यास गरेको भन्दै सम्मान गरे।
रामबहादुर थापा उपाध्यक्ष र लेखराज भट्ट उपमहासचिवमा निर्वाचित भए। यसलाई एमालेले माओवादी पृष्ठभूमिका नेताको औपचारिक अनुमोदनका रूपमा व्याख्या गरेको छ।
महाधिवेशनले २४ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै भदौ २३ र २४ गतेका घटनालाई गम्भीर र सुनियोजित षड्यन्त्रको संज्ञा दिएको छ। निहत्था युवामाथि भएको हिंसा, आगजनी, हतियार लुटपाट, कैदी भगाउने र निर्दोष नागरिकलाई जिउँदै जलाउने घटनाले देशलाई असफल राष्ट्रतर्फ धकेल्ने प्रयास भएको आरोप प्रस्तावमा गरिएको छ।
सरकारद्वारा गठन गरिएको छानबिन आयोगलाई एमालेले अमान्य घोषणा गर्दै सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष आयोग गठनको माग गरेको छ।
सरकारले निर्वाचनको वातावरण बनाउने सट्टा अनिर्वाचित सत्ता लम्ब्याउन लागेको ठहर गर्दै एमालेले सुरक्षा, शान्ति र निष्पक्ष निर्वाचन सुनिश्चित नभएसम्म जनताले निर्धक्क मतदान गर्न नसक्ने चेतावनी दिएको छ।
एघारौँ महाधिवेशनसँगै एमाले अब स्पष्ट रूपमा ‘आक्रामक राजनीतिक लाइन’ मा प्रवेश गरेको सन्देश भृकुटीमण्डपबाट बाहिरिएको छ।
