
पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेशमा आगामी निर्वाचनका लागि उम्मेदवार आकांक्षी संकलन सम्पन्न भएको छ । तर प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उपस्थिति अत्यन्त न्यून देखिएको छ । प्रदेशभर प्रतिनिधिसभाका १८ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्रमा महिलाको नाम नै सिफारिस हुन सकेन । जिल्ला हुँदै प्रदेश कार्यालयमा संकलित विवरणअनुसार प्रत्यक्षतर्फ १६३ जनाको नाम सिफारिस हुँदा महिलाको संख्या जम्मा १५ मात्र छ । पुरुष आकांक्षी हाबी हुँदा महिलाहरू भने समानुपातिकतर्फ सीमित हुन पुगेका छन् ।
प्रत्यक्षतर्फ १५ महिला, समानुपातिकतर्फ महिलाको भीड
प्रत्यक्ष उम्मेदवारका रूपमा गोरखा-१ बाट जानुका पन्त, कास्की-१ बाट अप्सरा श्रेष्ठ र सरिता कार्की (लोभिसा), कास्की-२ बाट लक्ष्मी पाण्डे र लक्ष्मी कार्की, कास्की-३ बाट सीता गुरुङको नाम सिफारिस भएको छ । त्यस्तै तनहुँ-१ बाट सरिता गुरुङ, नवलपुर-१ बाट सरस्वती तिमिल्सिना, स्याङ्जा-१ बाट बन्दना लम्साल, स्याङ्जा-२ बाट माया राना तथा बागलुङ-१ बाट सीतादेवी सापकोटा, बागलुङ-२ बाट अधिवक्ता गीता श्रीस काउचा, पर्वतबाट सीता काफ्ले, राधा कुँवर क्षत्री र मुना भुषाल सिफारिस भएका छन् ।
तर म्याग्दी, नवलपुर-२, तनहुँ-२, लमजुङ र गोरखा-२ बाट महिलाको नाम शून्य छ । मनाङ र मुस्ताङबाट पनि महिलालाई टिकट दिने सम्भावना न्यून देखिएको छ ।
दलित महिलाको उपस्थिति शून्य
प्रत्यक्षतर्फ दलित क्लस्टरबाट एकजना पनि महिला आकांक्षी छैनन् । आदिवासी जनजातिबाट ५ जना र खस आर्य समुदायबाट १० महिलाको नाम मात्रै परेको छ । समानुपातिकतर्फ भने ६३ जनाको नाम सिफारिस भएको छ, जसमा अधिकांश महिला छन् । गोरखा–१ बाट प्रत्यक्ष सिफारिस भएकी जानुका पन्त भन्छिन्, “सक्षम हुँदाहुँदै पनि टिकट पाइँदैन भन्ने मानसिकता महिलामा गहिरो छ । पुरुषसँग प्रतिस्पर्धा गर्न सकिँदैन भन्ने डर रोपिन्छ । तयार महिलालाई पनि मनोवैज्ञानिक रूपमा कमजोर बनाइन्छ ।”
पूर्व प्रदेश सांसद ओमकला चालिसे पनि महिलाले जोखिम नलिनुको कारण पार्टीभित्रकै संरचना रहेको बताउँछिन् । “एक ठाउँमा मात्रै नाम सिफारिस गर्न भनियो । प्रत्यक्ष टिकट नपाइने निश्चित देखेर महिलाले समानुपातिकमै नाम टिपाए । पुरुष नेताहरू जरा गाडेर बसेका छन्,” उनले भनिन् । कास्की-१ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने भने पार्टीले महिलालाई रोक नलगाएको दाबी गर्छन् । “उम्मेदवार हुन कसैलाई अवरोध गरिएको छैन । बरु हामीले प्रोत्साहन नै गरेका हौं । तर अपेक्षाकृत आकांक्षी आएनन्,” उनले भने ।
अघिल्लो निर्वाचनको इतिहास पनि उस्तै
२०७९ को निर्वाचनमा गण्डकीका कुनै पनि क्षेत्रमा काँग्रेसबाट महिला प्रत्यक्ष उम्मेदवार थिएनन् । एमालेबाट कास्की-२ मा विद्या भट्टराई निर्वाचित हुनु अपवाद बनेको थियो । प्रदेशसभामा भने एमालेबाट स्याङ्जाकी सीताकुमारी सुन्दास र नवलपुरकी पद्या जिसी श्रेष्ठ निर्वाचित भएका थिए । गण्डकीका पालिकाहरूमा पनि महिला नेतृत्व न्यून छ । नवलपुरको हुप्सेकोटमा लक्ष्मीदेवी पाण्डे, बागलुङको बडिगाडमा गण्डकी थापा र पर्वतको मोदीमा हिरादेवी शर्माले मात्रै प्रमुख पद सम्हालेका छन् ।
