
पोखरा। पोखरा महानगरपालिका-२७ स्थित श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रम परमार्थ नगरका बालबालिकाहरू र वृद्धवृद्धाहरूसँग आश्रय नेपालले न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा महिला पर्यटन विकास समिति कास्कीकी अध्यक्ष ममता न्यौपानेले आश्रय अभियान नेपाललाई धन्यवाद दिँदै बालबालिकाहरूको उज्जवल भविष्यको कामना गरेकी थिइन्।
कार्यक्रमको अध्यक्षतामा आश्रय अभियान नेपालकी अध्यक्ष गीता लामिछाने रहिन्। यस अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष ध्रुववाबु भट्टराई र लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले सहयोगको महत्व औँल्याउँदै यस किसिमका पहलले समाजमा सकारात्मक प्रभाव पर्ने बताए।
अध्यक्षतासँगै सचिव कृष्णप्रसाद ढुङ्गानाको पहलमा आश्रममा आश्रित १५ जना बालबालिकालाई न्यानो पोशाक र खाद्यान्न प्रदान गरिएको थियो। आश्रमका १०८ स्वामी विष्णु वशिष्ठले सहयोगले बालबालिकाहरूको लक्ष्य र उद्देश्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।
सचिव ढुङ्गानाले यस्तो सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे भने कोषाध्यक्ष रक्षा भण्डारीले उपस्थित सबैलाई स्वागत गरे।कार्यक्रमले समुदायमा सामाजिक सद्भाव र सहयोगको भावना प्रोत्साहित गर्ने उल्लेखनीय पहलको रूपमा सहभागीहरूको प्रशंसा पाएको थियो।
