
पोखरा। “विश्व शान्ति र सद्भावका लागि ध्यान” भन्ने मूल नाराका साथ दोस्रो विश्व ध्यान दिवसको अवसरमा लायन्स क्लव अफ पोखरा योगशालाले पोखराका विभिन्न विद्यालयहरूमा एकैसाथ सेवामूलक ध्यान कार्यक्रम सम्पन्न गरेको छ।
योग र ध्यानको माध्यमबाट विद्यार्थीहरूमा सकारात्मक ऊर्जा र मानसिक शान्ति प्रवाह गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा क्लवका ऊर्जाशील योग अभियन्ताहरूले विभिन्न विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकहरूलाई ध्यान गराएका थिए।
क्लवका अनुसार पोखराका पाँचवटा प्रमुख विद्यालयहरूमा एकै समयमा यो अभियान सञ्चालन गरिएको थियो। जसमा पोखरा पब्लिक स्कुलमा लायन सीता पौडेल र रुपा पाण्डे, शुक्रराज माध्यमिक विद्यालयमा लायन सुनिता र रश्मि भण्डारी, किड्स होम्स् मन्टेश्वरीमा लायन सगिता पराजुली र सगिता थापा, प्रतिभा सेकेन्डरी स्कुलमा लायन अन्जु के.सी. र ज्योती अधिकारी तथा पोखरा वल्ड स्कुलमा लायन निलम शाहले सहजकर्ताको भूमिका निभाएका थिए।
कार्यक्रमका बारेमा जानकारी दिँदै लायन्स क्लव अफ पोखरा योगशालाकी संस्थापक अध्यक्ष तथा रिजन चियर पर्सन लायन रश्मि भण्डारीले विश्व ध्यान दिवसको शुभकामना व्यक्त गरिन्।
उनले भनिन्, “आफ्नो विद्यालयको प्राङ्गण खुल्ला रूपमा छोडी विद्यार्थीहरूलाई यो पवित्र कार्यमा सहभागी गराउनुहुने सम्पूर्ण विद्यालय परिवारप्रति हामी अत्यन्तै आभारी छौँ।”
साथै, उनले कार्यक्रम सफल पार्न अहोरात्र खट्ने क्लवका सम्पूर्ण ऊर्जाशील योग अभियन्ताहरूलाई विशेष धन्यवाद समेत ज्ञापन गरिन् ।
लायन्स क्लव अफ पोखरा योगशालाले स्थापनाकालदेखि नै योग र ध्यानका माध्यमबाट समाजमा स्वास्थ्य र शान्तिको सन्देश फैलाउँदै आएको छ।
आजको यस सामूहिक ध्यान कार्यक्रमले विद्यार्थीहरूमा एकाग्रता बढ्नुका साथै समाजमा सद्भावको सन्देश जाने विश्वास क्लवले लिएको छ।

