
पर्वत। कुश्मास्थित तीनसय वर्ष पुरानो सांस्कृतिक तथा पुरातात्विक घर ‘शताब्दी घर’ मा एक दिवसीय ‘कलाको रुपमा सम्पदा’ चित्रकला कार्यशाला सम्पन्न भएको छ।
पछिल्लो समय पर्यटकीय एवं सांस्कृतिक दृष्टिले गन्तव्य बन्दै गइरहेको शताब्दी घरको संस्थागत विकासका लागि मूलत: कार्यशाला आयोजना गरेको कुश्मा कला परियोजना तथा शताब्दी घरका परिकल्पनाकार आरके अदीप्त गिरीले जानकारी दिए। धौलागिरि क्षेत्रका पुराना कलाकारसँग नव कलाकारहरूले एकै थलोमा बसेर चित्रकला अनुभव साटासाट गरुन, कलाको विविधता एकै थलोमा ‘डिस्कोर्स‘ होस भनेर नै यसखाले कार्यक्रमको परिकल्पना- आयोजना गरिएको गिरीले बताए।
कार्यशालामा सहभागी बागलुङका कलाकार मछिन्द्र शाक्यका अनुसार यस प्रकारको कार्यशालाले समुदायमा कलाको महत्ववृद्दि गर्नमा सहयोग पुर्याउने धारणा व्यक्त गरे। यसले कलाको उजागर मात्र होइन, उनीहरूको पहिचान, सहभागिता र गौरवपूर्ण इतिहासको खोजी गर्न सहयोग पुर्याउने उनको मत थियो। कार्यशालाका अर्का सहभागी मिलन खत्रीका अनुसार -‘हाम्रो आफ्नो संस्कृति, कला र समाजको बहुलता एकै थलोमा हेर्न/ पढ्न पनि कार्यशाला सहयोग सावित रहेको उनको अनुभव छ।
समावेशीमूलक रूपमा संचालित कार्यशालामा झण्डै दुई सय विद्यार्थी र तीन दर्जन बढी धवलागिरि क्षेत्रका अग्रज- अनुज कलाकारहरूको सहभागिता थियो। तीन सय वर्ष पुरानो शताब्दी घर संरक्षण गरिरहेका गिरीले सोही स्थानमा कला कार्यशाला आयोजना गर्नुको अन्तर्य खुलाए।
‘कुश्मा नगरलाई के कसरी थप सिर्जनात्मक विकास गर्न सकिन्छ भन्ने धेयले हामीले शताब्दी घरको परिकल्पना गरेका हौँ। यसलाई सबैको साझा संस्कृति चिन्तन थलो, ज्ञानशाला बनाऔँ भन्ने हाम्रो स्वप्न सोच छ। शताब्दी घरलाई पहाडे वास्तुकला झल्काउने एउटा नमुना घरको रुपमा स्थापित गर्दै आँगनलाई ‘नृत्य आँगन’, ज्ञानकुटी, खुला स्टुडियो, पुस्तकालय सहित विभिन्न जातजाति र समुदायका लोपोन्मुख परम्परागत सामग्री राखेर सङ्ग्रहालयका रुपमा रुपान्तरण गर्ने सोचले आफू अगाडि बढिरहेकाको संरक्षणकर्मी गिरीले बताए।
‘यो कला कार्यशाला गर्नुको मुख्य औचित्य पछिल्लो पुस्ताले बिर्सिँदै गएका हाम्रा मौलिक कला-सांस्कृति र यसले ओगटेका महत्वका चिजलाई संरक्षण र पुस्तान्तरण गर्नुसमेत ‘शताब्दी घर’को उद्देश्य रहेको छ। र, हामीले जोगाएका संस्कृति, सभ्यता र सम्पदा भोलि हाम्रा सन्ततिले हेर्ने आँखीझ्याल बन्न सकुन् भन्ने आफ्नो चाहना रहेको र कलाकारको सम्मानसहित नयाँ पुस्तालाई चित्रकलामा आकर्षित गर्न कार्यशाला राखिएको हो’ गिरीले उल्लेख गरे।
कार्यशालामा पर्वत, कुश्माका विभिन्न विद्यालयका झण्डै २०० विद्यार्थी सहभागी थिए। विद्यार्थीले चित्र कोरे। पाकापुराना कलाकारले क्यानभासमा कोरेका आकृति अवलोकन गरे। कार्यशालामा कोरिएका चित्रलाई शताब्दी घरमा सङ्ग्रह गरिने भएको आयोजकको भनाइ छ। कवि-लेखक एवं पर्यावरण चिन्तक गिरीका अनुसार शताब्दी घरलाई सांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्य लिएको छ। साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन र सम्पदा संरक्षणका क्षेत्रमा ‘शताब्दी घर’ क्रियाशील छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौंको प्राविधिक सहयोगमा संचालित कार्यशालाले धौलागिरी क्षेत्रमा कलाको वातावरण सिर्जना गर्न मद्दत पुर्याउने नाफाका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए। उनका अनुसार कार्यशाला कलाकारहरूबीच सिक्ने, सिकाउने अवसर बनेको र कलाप्रतिको सम्मानका लागि यस किसिमका गतिविधि हुनु आवश्यक छ। पछिल्लो समय प्रतिष्ठानले जिल्लास्तरमा ललितकलासँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
प्रतिष्ठानका प्राज्ञ सदस्य राधी कँडेलले राजधानी र ठूला सहरमा मात्र हुँदै आएका कला प्रवर्द्धनका कार्यक्रमलाई विकेन्द्रित गर्ने प्रयास गरिएको बताए। ‘कला कार्यशाला धेरैजसो पोखरामा हुने गरेको थियो, यसपालि पर्वतमा आयोजना गर्न सफल भएका छौँ”, उनले भनिन, ‘यस क्षेत्रका कलाकार, चित्रकलाप्रति रुची भएका विद्यार्थीहरूको उत्साहजन सहभागिता रह्यो, यसले कलाप्रतिको सम्मान झल्काएको छ।’
धौलागिरिका कलाकारहरूसँग अन्तरसांस्कृतिक सम्वाद गर्न पाउनु र एकैथलोमा आफ्ना कलालाई अग्रजहरूसँग साट्न पाउँदा आफूहरू खुशी भएको कार्यशालामा सहभागीहरूको प्रतिक्रिया थियो। कार्यशालामा क्यानभास, मेटल, मूर्ती र काष्ठकला अन्तर्गतका ३७ थान कला सहभागीहरूले तयार गरेका थिए। प्रकृति, संस्कृति, सम्पदा र जीवनका अनेक भावभङ्गीलाई उनीहरूले आफ्नो कलामार्फत उजागर गरेका थिए।
