मुख्य सडक आसपासका कवाडी, वर्कसप र कारवास हटाउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

Share:

पोखरा । पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका प्रमुख राजमार्ग तथा मुख्य सडक आसपास सञ्चालनमा रहेका कवाडी सङ्कलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योग अन्यत्र व्यवस्थापन गर्न ३५ दिनको समयसीमा तोकेको छ । सवारी आवागमनमा अवरोध सिर्जना हुनुका साथै सहरी सौन्दर्य र वातावरणीय स्वच्छतामा नकारात्मक असर परेको भन्दै महानगरपालिकाले उक्त निर्णय सार्वजनिक गरेको हो ।

महानगरपालिकाद्वारा जारी सूचनाअनुसार पृथ्वी राजमार्गको कोत्रेदेखि सेतिपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म, पोखरा–बाग्लुङ राजमार्गको जिरोकिमीबाट फेदिसम्म तथा नगर क्षेत्रका अन्य प्रमुख सडकहरूको दायाँ-बायाँ सञ्चालनमा रहेका यस्ता व्यवसाय तथा उद्यमहरूलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र अन्यत्र स्थानान्तरण गर्न अनुरोध गरिएको छ ।

महानगरपालिकाले तोकिएका क्षेत्रमा सञ्चालनमा रहेका हार्डवेयर पसल, डिपो तथा अन्य व्यवसायीहरूलाई समेत सडकपेटीमा निर्माण सामग्री, साइनबोर्ड र अन्य सामान नराख्न कडा आग्रह गरेको छ । यस किसिमका सामग्रीले पैदलयात्री र सवारी आवागमन दुवैमा समस्या सिर्जना गरिरहेको महानगरको भनाइ छ ।

अटेर गरे कानुनी कारबाही

महानगरपालिकाको सूचनालाई अटेर गरी तोकिएका क्षेत्रमा यस्ता व्यवसाय सञ्चालन गरेको वा सडकपेटीमा सामग्री राखेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

यस निर्णयको प्रभावकारी कार्यान्वयनका लागि पोखरा महानगरपालिकाले सम्बन्धित घरधनी, व्यवसायी, नागरिक समाज तथा स्थानीय प्रशासनलाई आवश्यक सहयोग र सहजिकरण गर्न विशेष अनुरोध गरेको छ ।

महानगरपालिकाका अनुसार यो कदमले सवारी व्यवस्थापन सहज बनाउने, सहरी सौन्दर्य बढाउने र वातावरणीय स्वच्छता कायम गर्ने लक्ष्य राखिएको छ ।

सूचना:

कमेन्ट गर्नुहोस्
Share: