पोखराका युवा पत्रकार धनबहादुर गुरुङ सम्मानित

Share:

काठमाडौं । पोखराका युवा पत्रकार समाधानकर्मी धनबहादुर गुरुङ ‘पूर्वप्रधानसेनापति छत्रमानसिंह-कमला गुरुङ पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् । तमु गुरुङ सञ्चारकर्मी संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङसहित ६ जना पत्रकारहरू पुरस्कृत भएका थिए ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले पत्रकारहरूलाई पुरस्कार प्रदान गरे । संघले प्रत्येक वर्ष एक जना गुरुङ र एक जना गैरगुरुङ समुदायका पत्रकारलाई यस प्रतिष्ठित पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष गुरुङसँगै गैरगुरुङ समुदायतर्फ काठमाडौंका श्यामकृष्ण श्रेष्ठले पुरस्कार प्राप्त गरे । उनीहरूले जनही २० हजार १ रुपैयाँसहित सम्मानपत्र पाएका थिए ।

त्यस्तै, ‘तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कार’ बाट काठमाडौंकी इच्छा गुरुङ पुरस्कृत भइन् र १२ हजार ५०१ रुपैयाँ प्राप्त गरिन् ।लमजुङकी खुसीमाया गुरुङले ‘तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार’, चितवनकी सूचना गुरुङले ‘लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार’, र सुनसरीका रबिन गुरुङले ‘सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार’ प्राप्त गरे । यी तीनै पुरस्कारको राशि जनही १० हजार १ रुपैयाँ रहेको थियो ।

सोही अवसरमा ‘गुरुङ न्युज डटकम’ पनि लोकार्पण गरिएको थियो, जसले गुरुङ समुदायका समाचार र सन्देश प्रवाहमा योगदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: