
पोखरा । गण्डकी प्रदेशमा प्रसूति सेवाको उल्लेखनीय विस्तारसँगै असुरक्षित रूपमा घरमै सुत्केरी हुने प्रचलन तीव्र रूपमा घटेको छ। प्रदेशभर हाल ३६४ वटा प्रसूति केन्द्र सञ्चालनमा छन् भने वार्षिक घरमै सुत्केरी हुने संख्या २०० भन्दा कममा झरेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशभित्र १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध छ। यस्तै, जटिल अवस्थाका सुत्केरी गराउने ५२ वटा स्वास्थ्य संस्था सक्रिय छन्। मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेशकुमार केसीका अनुसार मनाङबाहेक सबै जिल्लामा शल्यक्रिया सेवा उपलब्ध भइसकेको छ।
मन्त्रालयको तथ्यांकले गण्डकीमा वार्षिक करिब ३६ हजार महिला गर्भवती हुने देखाउँछ। तीमध्ये करिब १२ हजारले गर्भपतन गराउने अनुमान छ भने २४ हजार महिलाले शिशु जन्माउने गरेका छन्। कुल गर्भवतीमध्ये करिब ४ हजार महिला भने काठमाडौं, चितवन, पाल्पा जस्ता सुगम जिल्लामा गएर प्रसूति गराउने गरेका छन्।
पछिल्लो राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDHS) अनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूति दर ८९ प्रतिशत पुगेको छ। सरकारले अब घरमै हुने प्रसूतिलाई शून्यमा झार्दै गण्डकीलाई ‘पूर्ण संस्थागत प्रसूति सुनिश्चित प्रदेश’ घोषणा गर्ने लक्ष्य लिएको छ।
मातृ तथा नवशिशु मृत्युदर न्यूनीकरणका लागि सरकारले रणनीतिक स्थानमा ‘प्रसूति प्रतीक्षा गृह’ स्थापना गर्ने तथा ग्रामीण भेगमा अल्ट्रासाउण्ड सेवा विस्तार गर्ने योजना अघि सारेको छ। साथै, प्रसूति केन्द्रको सुदृढीकरणका लागि आधुनिक उपकरण, आवश्यक औजार र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा मन्त्रालयले विशेष जोड दिँदै आएको छ।
प्रदेशमा विस्तार हुँदै गएको सुरक्षित प्रसूति सेवाले मातृ तथा शिशु स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।
