
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार विभिन्न विधामा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। पोखराका खेल मैदानहरू विद्यार्थी खेलाडीको जोश, उत्साह र प्रतिस्पर्धाले भरिएका थिए।
एथलेटिक्सतर्फ छात्रा ८ सय मिटर दौडमा फिस्टेल एकेडेमीकी आराध्या चालिसेले स्वर्ण पदक जितिन् भने प्रतिभाकी मेनुका अधिकारी र गण्डकीकी सादगी शर्माले क्रमशः रजत र काश्य पदक हात पार्न सफल भए। ज्याब्लिन थ्रो छात्रतर्फ हार्वडका निसान केसी स्वर्ण विजेता बने भने छात्रातर्फ कालिकाकी सुनिता गोलेले स्वर्ण पदक आफ्नो नाममा लेखाइन्।
४×१०० मिटर रिले दौड छात्रातर्फ कास्की मोडर्नाइज्ड एकेडेमी र छात्रातर्फ फिस्टेल एकेडेमीले स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरे। लङ जम्पमा छात्रातर्फ सगरमाथाकी अनुष्का अधिकारी र छात्रतर्फ कालिकाका अमन दुरा स्वर्ण पदकका हकदार बने।
एथलेटिक्स उपसमिति संयोजक गोप बहादुर अधिकारीका अनुसार ८४ विद्यालयका ६ सय ६५ विद्यार्थी सहभागी एथलेटिक्समा कुल ७८ पदकका लागि प्रतिस्पर्धा भइरहेको छ। बाँकी खेल शुक्रबार सम्पन्न हुनेछन्।
उता, पोखरा रङ्गशाला र कालिका माविको भलिबल कोर्टमा सञ्चालित भलिबल प्रतियोगितामा अब क्वाटर फाइनल, सेमी फाइनल र फाइनल खेल मात्र बाँकी छन्। छात्रतर्फ ४५ र छात्रातर्फ २३ गरी कुल ६८ टिम सहभागी भलिबल प्रतियोगिताले पनि दर्शकको ध्यान तानेको छ।
कराते विधामा भने सबै खेल सम्पन्न भइसकेका छन्। कराते उपसमिति संयोजक धन लामाका अनुसार ४१ विद्यालयका १३१ खेलाडी सहभागी प्रतियोगिताबाट १२ स्वर्ण, १२ रजत र २४ काश्य गरी कुल ४८ पदक वितरण गरिएको छ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितामा ३ हजारभन्दा बढी विद्यार्थी सहभागी भई कुल ४ सय ४ पदकका लागि प्रतिस्पर्धा भइरहेको जानकारी दिए। प्रतियोगितामा उसु, कराते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी ६ विधा समावेश छन्।
प्रतियोगितामा भलिबल र कबड्डीका विजेताले नगद पुरस्कारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। एथलेटिक्स एकल तथा रिले खेलका विजेतालाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। मार्चपासमा समेत उत्कृष्ट टिमलाई पुरस्कार प्रदान गरिनेछ।
