पोखराको चिप्लेढुङ्गामा केएफसीको नयाँ आउटलेट, १४ जनालाई रोजगारी

Share:

पोखरा। विश्वकै चर्चित फुड ब्रान्ड केएफसीले पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुङ्गामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले बिहीबार चिप्लेढुङ्गास्थित सेलवेज क्यास एण्ड क्यारीमा आफ्नो २३औँ आउटलेट औपचारिक रूपमा उद्घाटन गरेको हो।

नयाँ आउटलेटको उद्घाटन सेलवेज क्यास एण्ड क्यारी प्रालिका अध्यक्ष कृष्णदेव प्रधानाङ्ग र पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले संयुक्त रूपमा गरेका थिए। यससँगै पोखरामा केएफसीको दोस्रो शाखा सञ्चालनमा आएको छ।

‘विश्वमा उत्कृष्ट चिकेन’को पहिचान बनाएको केएफसीले हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, जिन्जर बर्गर तथा केएफसी बकेटजस्ता लोकप्रिय परिकार ग्राहकलाई पस्कँदै आएको छ। नयाँ आउटलेट पोखराका चिकेनप्रेमीहरूका लागि आकर्षक गन्तव्य बन्ने कम्पनीको विश्वास छ।

देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत (सीएफओ) ऋतुराज शाहका अनुसार चिप्लेढुङ्गा आउटलेटबाट १४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने देशभर केएफसीका आउटलेटमार्फत ४ सयभन्दा बढीले रोजगारी पाएका छन्।

उद्घाटनको अवसर पारेर शुक्रबार विशेष छुट तथा अफरको व्यवस्था गरिएको छ। आउटलेट दैनिक बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। शाहका अनुसार यो शाखा सेलवेजसँगको सहकार्यमा खुलेको पहिलो केएफसी आउटलेट हो।

केएफसीले सन् २००९ मा नेपालमा प्रवेश गरेको थियो भने २०१७ मा पोखराको लेकसाइडमा पहिलो आउटलेट सञ्चालनमा ल्याएको थियो। कम्पनीले २०२५ डिसेम्बरसम्म देशभर २५ आउटलेट विस्तार गर्ने लक्ष्य लिएको छ।

नयाँ शाखा सञ्चालनसँगै केएफसीले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा ‘केएफसी सेलिब्रेसन अफर’समेत ल्याएको जनाएको छ। साथै कम्पनीले नियमित रूपमा ग्राहक लक्षित विभिन्न आकर्षक अफरहरू ल्याउँदै आएको शाहले बताए।

कमेन्ट गर्नुहोस्
Share: