पर्यटनलाई उद्योग सरह मान्यता दिन होटल संघ पोखराको सरकारसँग माग

Share:

पोखरा । होटल संघ पोखरा नेपालले पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिई सोहीअनुसार सुविधा उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हालाई शनिबार पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै संघका अध्यक्ष लक्ष्मण सुवेदीले चालू आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिने उल्लेख भए पनि त्यसको कार्यान्वयन हुन नसकेको विषय स्मरण गराए।

उद्योग तथा कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री सिन्हालाई पोखरामा स्वागत गर्दै संघले उक्त विषयलाई शीघ्र कार्यान्वयनमा लैजान आग्रह गरेको हो। ध्यानाकर्षण पत्रमार्फत संघले हालसम्म आन्तरिक उडानमै सीमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत र चीनका विभिन्न शहरहरूमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गराउन आवश्यक पहल गर्न माग गरेको छ। साथै, छिमेकी देशका सीमावर्ती शहर तथा आन्तरिक पर्यटकलाई लक्षित गर्दै प्रादेशिक शहरहरूबीच आन्तरिक हवाई सञ्जाल विस्तार गर्नुपर्ने माग पनि संघले अघि सारेको छ।

यसैगरी, २०७२ सालअघि निर्माण भएका साना तथा मझौला होटल उद्योगहरूका लागि वातावरणीय अध्ययन व्यवहारिक नभएको भन्दै उक्त प्रावधान खारेज गर्न संघले सरकारसँग माग गरेको छ। जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित होटल प्रतिष्ठानहरूलाई पुनरुत्थानका लागि उचित राहत प्याकेजको व्यवस्था गर्न र पोखरासँग जोडिएका मुख्य राजमार्गहरूको स्तरोन्नति कार्य तोकिएको समयमै सम्पन्न गराउन सम्बन्धित निकायलाई दबाब दिनुपर्ने आवश्यकता समेत संघले औँल्याएको छ।

सो अवसरमा मन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योग सरह सहुलियत दिने विषयमा छलफल अघि बढेको र छिट्टै कार्यान्वयनमा आउने आश्वासन दिए। पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषयमा पनि सरकार सक्रिय रहेको दाबी उनले गरे।

गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बश्यालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा पटक-पटक संघीय सरकारको ध्यानाकर्षण गराइएको स्मरण गराए। छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा संघका सल्लाहकार विश्वशंकर पालिखेले अपेक्षित संख्यामा पर्यटक नआउनुका कारणहरूको गहिरो अध्ययन आवश्यक रहेको बताए।

उनले सातै प्रदेशमा पर्यटन मार्ट आयोजना गरी प्रवद्र्धनात्मक गतिविधि विस्तार गर्न नेपाल पर्यटन बोर्डले सहजीकरण गर्नुपर्ने सुझाव राखे।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले लगानीको सुरक्षा र व्यवसायमैत्री वातावरण निर्माणतर्फ सरकार गम्भीर बन्नुपर्ने बताए। जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता र दोषी पक्राउ नगरिएसम्म पूर्ण सुरक्षा वातावरण निर्माण हुन नसक्ने उनको भनाइ थियो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बंगलादेशी र श्रीलंकन मुद्रा सटहीलाई सहज बनाउने नीति लागू गर्न सके पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने सुझाव दिए।

पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले पर्यटकीय लेकसाइड क्षेत्रमा पार्किङ व्यवस्थापन सुधार गर्नुपर्नेमा जोड दिँदै फेवाताल मापदण्डसम्बन्धी अदालतको फैसला सच्याइनुपर्ने माग राखे।

कार्यक्रमको समापन गर्दै संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरे। होटल क्राउन हिमालयजमा आयोजित कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्ष नेत्रप्रसाद पौडेल (रमेश) ले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: