पोखरामा सडक महोत्सव: एक्स नेपथ्यदेखि उज्जन शाक्यसम्म गुञ्जिने, आस्मा विश्वकर्माले मच्चाउने धुम

Share:

पोखरा । पोखराको चर्चित सडक महोत्सव शुरु भएसँगै लेकसाइडस्थित कोमागाने पार्कमा भव्य सांगीतिक उत्सव पनि शुरु भएको छ। रेवान पोखराको आयोजनामा सञ्चालन भएको सडक महोत्सवसँगै अल टेक नेपालको संयोजनमा कोमागाने पार्कमा संगीतप्रेमीका लागि विशेष उत्सवको आयोजना गरिएको हो।

यस सांगीतिक उत्सवअन्तर्गत करिब तीन दशकपछि एक्स नेपथ्य पोखरामा गुञ्जिने भएको छ। न्यू इयर इभ विशेष कार्यक्रम अन्तर्गत पुस १६ गते साँझ एक्स नेपथ्यका रविन श्रेष्ठ र गौतम गुरुङले विशेष प्रस्तुति दिने अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए।

सोही दिन न्यू इयर इभ स्पेसल कार्यक्रममा उज्जन शाक्य, डिमर्चा, लेकाली र देउराली व्याण्डको लाईभ प्रस्तुति रहनेछ। साथै, कार्टुन क्रुजकी भाइरल डान्सर आस्मा विश्वकर्मा र सरोज अधिकारीले ‘छिकिरी, छिकिरी’ लगायतका चर्चित गीतमा नृत्य प्रस्तुति दिँदै दर्शकलाई झुमाउनेछन्।

यसैगरी, पुस १५ गते तमु समुदायको सांस्कृतिक पर्व ल्होसार विशेष कार्यक्रम आयोजना गरिनेछ। ल्होसार विशेष कार्यक्रममा स्वप्न सुमन, केहर एण्ड द लुङ्गा, चक्र व्याण्डलगायतका कलाकारहरूको लाईभ प्रस्तुति रहनेछ। साथै, प्रिती आले, देउराली व्याण्डका पूर्व गायक आनन्दराज बज्राचार्य, सन्तोष बस्याललगायतले पनि प्रस्तुति दिनेछन्।

त्यस दिन दिउँसो दीवा कार्यक्रम अन्तर्गत लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुति रहनेछ।

पुस १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता आयोजना गरिनेछ भने दिउँसोदेखि साँझसम्म इन्टर स्कुल व्याण्ड कम्पिटिसनका विजेता तथा उपविजेताहरूले सांगीतिक प्रस्तुति दिनेछन्।

सडक महोत्सवसँगै शुरु भएको यस सांगीतिक उत्सवले पोखराको पर्यटन, संस्कृति र संगीतलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: