
पोखरा। होटल संघ पोखरा नेपालले फेवाताल संरक्षण र पर्यटन क्षेत्रका विविध समस्या समाधानका लागि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ को ध्यानाकर्षण गराएको छ। भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङलाई संघले छ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै ताल संरक्षणका लागि उचित बजेट विनियोजनको माग गरेको हो।
होटल संघ नेपालका केन्द्रीय सदस्य तथा होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुली को अगुवाइमा संघको टोलीले मन्त्री घिसिङसँग भेट गरी पर्यटन क्षेत्रले भोगिरहेका समस्या र चुनौतीहरू समाधान गर्न आवश्यक पहल गर्न आग्रह गरेको हो।
संघका अध्यक्ष लक्ष्मण सुवेदी को हस्ताक्षरमार्फत बुझाइएको ध्यानाकर्षण पत्रमा फेवाताल नेपालको अमूल्य प्राकृतिक धरोहर भएको उल्लेख गरिएको छ। वर्षायाममा आउने बाढी, पहिरो, ढल व्यवस्थापनको कमजोरी तथा अतिक्रमणका कारण फेवाताल दिनानुदिन साँघुरिँदै पोखरीमा परिणत हुने जोखिममा रहेको जनाइएको छ। सर्वोच्च अदालतको फैसलाअनुसार स्थानीय सरकारद्वारा तालको सिमाङ्कन भइसकेको अवस्थामा पनि आवश्यक बजेटको अभावमा संरक्षणसम्बन्धी कार्य अघि बढ्न नसकेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त रकम विनियोजन गर्न संघले आग्रह गरेको छ।
संघले जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित होटल तथा पर्यटन प्रतिष्ठानहरूको पुनरुत्थानका लागि उचित राहत प्याकेजको व्यवस्था गर्नुपर्ने माग पनि ध्यानाकर्षण पत्रमा समेटेको छ। साथै चालू बजेटमा पर्यटन उद्योगलाई अन्य उद्योग सरह सुविधा दिने प्रतिबद्धता जनाइए पनि हालसम्म कार्यान्वयन हुन नसकेको विषयप्रति पनि संघले ध्यानाकर्षण गराएको छ।
पोखरासँग जोडिएका मुख्य राजमार्गहरूको स्तरोन्नति कार्यमा ढिलाइ भएको उल्लेख गर्दै संघले तोकिएको समयमा काम सम्पन्न गराउन सम्बन्धित निकायलाई दबाब दिनुपर्ने आवश्यकता औंल्याएको छ। साथै पोखरालाई भारतीय सीमासम्म सिधा जोड्ने फास्ट ट्र्याक निर्माण योजना अघि बढाउन पनि मन्त्री घिसिङसँग आग्रह गरिएको छ।
पोखरामा विभिन्न समयमा निर्माण भएका पुराना होटल, घर तथा भवनहरूको निर्माण सम्पन्न प्रमाणपत्र नहुँदा वातावरणीय अध्ययन गर्न समस्या भइरहेको जनाउँदै संघले यसका कारण पर्यटन कार्यालय तथा विभागबाट गरिने होटल स्तरीकरण प्रमाणपत्र नवीकरणमा साना तथा मझौला होटल व्यवसायीहरूले कठिनाइ झेल्नुपरेको उल्लेख गरेको छ। त्यसैले स्तरीकरण प्रमाणपत्र नवीकरण प्रक्रिया सहज बनाउन संघले सरकारसँग माग गरेको छ।
होटल संघ पोखरा नेपालले फेवाताल संरक्षण र पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै संघले आफ्नो तर्फबाट निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
