
पोखरा । पोखरा सडक महोत्सवअन्तर्गत कोमागाने पार्कमा जारी सांगीतिक उत्सवमा भोलि बुधबार न्यू ईयर ईभ विशेष कार्यक्रम आयोजना हुँदैछ । नेपाली सांगीतिक इतिहासका चर्चित व्याण्ड तथा कलाकारहरूको प्रस्तुतीले मध्यरातसम्म पोखरा गुञ्जिनेछ । अल टेक नेपालको संयोजनमा सञ्चालन भइरहेको उत्सवमा तीन दशकपछि एक्स नेपथ्य विशेष आकर्षणका रूपमा प्रस्तुत हुँदैछ । एक्स नेपथ्यका गायक रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा, आँगनै भरी, नक्कली कान्छी लगायतका गीतहरू गुञ्जाउनेछन् भने गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास र यार्लिङ कहाँ खस्यो ? जस्ता कालजयी गीतहरू ओरिजिनल स्वरमै प्रस्तुत गर्नेछन् ।
न्यू ईयर ईभ विशेष कार्यक्रममा उज्जन शाक्यको लाइभ व्याण्ड प्रस्तुती पनि रहनेछ । उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः र लिक्कलिक्क जस्ता लोकप्रिय गीतमार्फत दर्शकलाई झुमाउने कार्यक्रम रहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । त्यसैगरी, भोलि डिमर्चा, लेकाली र देउराली व्याण्डले पनि लाइभ प्रस्तुती दिनेछन् । न्यू ईयर ईभ स्पेसलका रूपमा यस वर्ष कार्टुन क्रुजकी भाइरल डान्सर आस्मा विश्वकर्मा र सरोज अधिकारीले छिकिरी छिकिरी लगायतका चर्चित गीतहरूमा नृत्य प्रस्तुती दिने विशेष आकर्षण रहनेछ ।
दिउँसोको कार्यक्रममा प्रिती आले, लोकदोहोरी गायकहरू पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने आयोजकले बताएका छन् । यसअघि मंगलबार भने स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले महोत्सवलाई रोमाञ्चक बनाएका थिए । तमु समुदायको महान पर्व ल्होसारको अवसरमा दिउँसो विशेष सांस्कृतिक तथा रोँधी कार्यक्रम आयोजना गरिएको थियो ।
साँझमा स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रो जस्ता चर्चित गीत प्रस्तुत गरे भने केहर एण्ड द लुङ्गाले सररर, तिमीलाई सम्झेर, बैगुनी र तिमी बिना गुञ्जाए । त्यसअघि चक्र व्याण्ड र देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य तथा सन्तोष बस्यालले पनि दर्शकलाई पुराना यादमा फर्काएका थिए । न्यू ईयर ईभको रात पोखरा सडक महोत्सव संगीत, नृत्य र उत्सवको अद्भुत संगम बन्ने निश्चित देखिएको छ ।
