ताल बाराही माविको ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Share:

पोखरा। पोखरा महानगरपालिका–६, बैदामस्थित ताल बाराही माध्यमिक विद्यालयको ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा महानगरपालिका वडा नं–६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले शिक्षाको विकास बिना समाज र राष्ट्रको समग्र उन्नति कल्पना गर्न नसकिने बताए ।

उनले समयसापेक्ष र गुणस्तरीय शिक्षा आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै विद्यार्थीलाई व्यावहारिक, सीपमूलक र नैतिक शिक्षा प्रदान गरी दक्ष तथा सक्षम नागरिक तयार गर्नु सबैको साझा दायित्व भएको स्पष्ट पारे ।

वडा अध्यक्ष भट्टराईले सार्वजनिक शिक्षाको रूपान्तरण, वातावरणमैत्री हरित शैक्षिक संस्थाको निर्माण, गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार तथा अनुसन्धान र ज्ञानमा आधारित उच्च शिक्षामा जोड दिनुपर्ने बताए ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक तारा प्रसाद पोखरेलले प्रविधियुक्त तथा प्रयोगात्मक शिक्षण प्रणाली विकास गर्ने विद्यालयको संकल्प पूरा गर्न निरन्तर अघि बढिरहेको बताए । उनले सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग, परियोजना तथा अभ्यासमा आधारित सिकाइ र मूल्याङ्कनलाई प्राथमिकता दिँदै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु विद्यालयको मुख्य लक्ष्य रहेको जानकारी दिए ।

वि.सं. २०१४ सालमा स्थापना भएको विद्यालयमा हाल ७१२ जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक तथा कर्मचारी गरी ४७ जना कार्यरत रहेका छन् । साथै हालसम्म ४१ जना अक्षयकोष दाताबाट ३९ लाख १५ हजार ५ सय ३८ रुपैयाँ अक्षयकोषमा जम्मा भएको तथ्य प्रधानाध्यापक पोखरेलले प्रतिवेदनमार्फत प्रस्तुत गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दराज पहारीले कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा तथा होटेल म्यानेजमेन्ट विषय अध्यापन भइरहेको बताउँदै यो विद्यालय शैक्षिक क्षेत्रको विकासमा उदाहरणीय बनेको उल्लेख गरे । एसईई परीक्षालाई मध्यनजर गर्दै कक्षा १० का छात्र–छात्राका लागि निर्माणाधीन दुईवटा छात्रावास अन्तिम चरणमा पुगेको जानकारी दिँदै, निर्माण सम्पन्न भएपछि विद्यालयको भौतिक सुविधा र शैक्षिक वातावरण थप मजबुत हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष गोविन्दराज पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक द्रोणराज भुर्तेलले सञ्चालन गरेका थिए भने सहायक प्रधानाध्यापक यदुराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्व शिक्षक तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम पहारी, पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत रामप्रसाद तिवारी, बालहितकारी परियोजना नेपालका अध्यक्ष रामप्रसाद शर्मा, अभिभावक–शिक्षक संघ कार्यकारी समितिका अध्यक्ष मुक्तिराम पौडेललगायत वक्ताहरूले विद्यालयको शैक्षिक योगदानको प्रशंसा गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयका निवृत्तिभरण शिक्षक टिकाराम आचार्यलाई विदाइ गरिएको थियो भने विद्यालयको विकासमा योगदान पुर्‍याउने शिक्षक, कर्मचारी, पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा परिवारजनलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

साथै, वर्षभरि उत्कृष्टता हासिल गर्ने तथा खेलकुदका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल र छात्रवृत्ति प्रदान गरिएको थियो । समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: