
पोखरा। पोखरा महानगरपालिका वडा नं. १७ महतगौडामा अवस्थित जानकी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिप्रसाद बास्तोला सर्वसम्मत निर्वाचित भएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको भेलाले बास्तोलालाई अध्यक्षमा चयन गरेको हो।
पोखरा-१७ का वडाअध्यक्ष तथा वडा शिक्षा समितिका अध्यक्ष राधिका कुमारी शाही योगीको उपस्थितिमा समिति गठन गरिएको थियो।नवगठित व्यवस्थापन समितिको सदस्यमा सिता काफ्ले भण्डारी, देवीलाल शर्मा भण्डारी, मनोज श्रेष्ठ र नर्मदा केसी रहेका छन्।
विद्यालय नियमावलीअनुसार अभिभावक भेलाबाट चयन गरिएका सदस्य, वडा शिक्षा समितिका प्रतिनिधि, विद्यालय प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, शिक्षक-अभिभावक संघका अध्यक्ष तथा एक जना शैक्षिक व्यक्तिसहित नौ सदस्यीय समिति रहने व्यवस्था रहेको छ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष शाहीले नवनिर्वाचित व्यवस्थापन समितिलाई बधाई दिँदै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीबीच सामूहिक सहकार्य अपरिहार्य रहेको बताए। साथै, पोखरा महानगरपालिकाको पहलमा विद्यालयमा अटिजम स्रोत कक्षा सञ्चालन भइरहेको उल्लेख गर्दै यसको निरन्तरताका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा उनले जोड दिए।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक अजुर्न कडेलले विद्यालयका शैक्षिक तथा अतिरिक्त क्रियाकलापबारे जानकारी गराएका थिए। वडा शिक्षा समितिको तर्फबाट वडा सदस्य शिवराम भण्डारीलाई प्रतिनिधि तोकिएको जानकारी पनि कार्यक्रममा दिइयो। विद्यालयमा हाल नियमित शैक्षिक गतिविधिसँगै विशेष आवश्यकता भएका बालबालिकाका लागि समावेशी शिक्षालाई प्राथमिकता दिइँदै आएको छ।
