
पोखरा । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पोखरामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ। प्रदेश निर्वाचन कार्यालय पोखराको परिसरमा बिहीबार प्रदेशस्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
कास्की जिल्ला न्यायाधीश तथा नियुक्त निर्वाचन अधिकृत हिमलाल बेलबासेले कार्यालयको औपचारिक उद्घाटन गर्दै निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले तोकिएको निर्वाचन भयमुक्त वातावरणमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले निर्वाचनको तयारी र कार्यतालिकाबारे जानकारी गराउँदै पुस १९ गते मतदाता नामावली सार्वजनिक गरिने र पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता हुने जानकारी दिए ।
छ वर्षअघि निर्वाचित भएका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेकी नेतृ भगवती न्यौपानेको कार्यकाल सकिएपछि रिक्त हुने पदका लागि गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचन हुन लागेको हो। निर्वाचन अन्य क्लस्टर र महिला खुला क्लस्टरअन्तर्गत हुनेछ।
कानुनी व्यवस्थाअनुसार यस निर्वाचनमा प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। गण्डकी प्रदेशमा हाल दलगत अवस्था हेर्दा नेपाली कांग्रेसका २७ प्रदेश सांसद र ६७ स्थानीय तहका प्रमुख-उपप्रमुख, नेकपा एमालेका २२ प्रदेश सांसद र ७० स्थानीय जनप्रतिनिधि, नेकपा माओवादी केन्द्रका ७ प्रदेश सांसद र ३० स्थानीय जनप्रतिनिधि छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ प्रदेश सांसद, नेसपाका १ प्रदेश सांसद र राष्ट्रिय जनमोर्चाका ३ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। निर्वाचनको मिति नजिकिँदै जाँदा पोखरामा राजनीतिक चहलपहल बढ्दै गएको छ।
