पोखरा पुगेर रविले भने- रास्वपाको समानुपातिक सूची दुई दिनभित्र पुनरावलोकन गरिन्छ

Share:

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुझाइएको समानुपातिक बन्दसूची आवश्यक परे दुई दिनभित्र पुनरावलोकन गरिने स्पष्ट पारेका छन्।

पोखरामा आज आयोजित पत्रकार भेटघाटमा सभापति लामिछानेले पार्टी एकताको सहमति र निर्वाचन आयोगमा अन्तिम घडीमा सूची बुझाउनुपर्दा केही गुनासो र आलोचना आएको स्वीकार गरे। तर, पार्टीले तय गरेको विधि र विधानभन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गर्दै विधिबाहिरका विषय देखिएमा तत्काल सच्याइने बताए।

उनले हाल सामाजिक सञ्जाल र सार्वजनिक रूपमा भइरहेको खबरदारीलाई पार्टीका लागि सकारात्मक संकेतका रूपमा लिएको उल्लेख गरे।

“पार्टीले बुझाएको बन्दसूचीमा केही आलोचना आएका छन्। अन्तिम समयमा बुझाउँदा केही समस्या देखिन सक्छन्। तर रास्वपाको स्पष्ट विधि छ, विधिभन्दा बाहिर कुनै हालतमा जाँदैनौँ,” उनले भने, “हाम्रो पार्टीमा ‘राइट टु रिकल’को व्यवस्था छ र परिवारवादलाई पार्टी विधानले नै निषेध गरेको छ।”

सभापति लामिछानेले युवाहरूको ठूलो भरोसा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति रहेको उल्लेख गर्दै, नयाँ परिवर्तनको प्रतीकका रूपमा उहाँसँग सहकार्य गरेर प्रधानमन्त्रीका रूपमा अघि सारिएको बताए।

“युवाहरूको आन्दोलनपछि बालेनले जिम्मेवार भूमिका निर्वाह गर्नुभयो। उहाँको सद्भाव, सल्लाह र सुझावअनुसार नै अहिलेको सरकार बनेको हो,” उनले भने, “जेन–जीको विश्वास बालेनसँग छ। देशको आवश्यकता अनुसार उहाँसँग सहमति गरेर जिम्मेवारी बाँडेका छौँ।”

रास्वपाले पारदर्शिता, विधि र जवाफदेहितालाई प्राथमिकतामा राख्दै अघि बढिरहेको दाबी गर्दै सभापति लामिछानेले पार्टीभित्र उठेका सबै प्रश्नको जवाफ खुला रूपमा दिइने बताए।

कमेन्ट गर्नुहोस्
Share: