
पोखरा। कास्कीमा पछिल्लो समय अनलाइन ठगीका घटना भयावह रूपमा बढ्दै गएको खुलासा भएको छ। कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले एक वर्षको अवधिमा मात्रै जिल्लामा अनलाइन ठगीमार्फत १९ करोड रुपैयाँभन्दा बढी रकम ठगिएको जानकारी दिएका छन्।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको २२औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै एसपी कार्कीले अनलाइन ठगी रोक्न प्रहरी, सामुदायिक प्रहरी र स्थानीय समुदायबीच सहकार्य अनिवार्य भएको बताए।
उनका अनुसार अनलाइन ठगीमा प्रायः जान्ने-बुझ्ने व्यक्तिहरू नै प्रलोभनमा परेर फस्ने गरेका छन्। “घरछेउको छिमेकीलाई सापटी नदिनेहरू अनलाइनमार्फत नचिनेका व्यक्तिलाई लाखौँ रुपैयाँ पठाइरहेका छन्,” उनले भने। कास्कीमा एउटै व्यक्तिबाट १ करोड २१ लाख रुपैयाँसम्म ठगिएको उजुरी प्रहरीमा आएको उनले सुनाए।
लेकसाइडमा बढ्दो ट्राफिक जाम
एसपी कार्कीले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सवारी साधनका कारण ट्राफिक जाम बढ्दै गएको उल्लेख गर्दै यसको समाधानका लागि पर्यटन व्यवसायी, प्रहरी र सामुदायिक प्रहरीबीच छलफल आवश्यक रहेको बताए।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले फेवाताल संरक्षणका लागि वडा कार्यालय सक्रिय रूपमा लागिरहेको बताए। फेवातालमा पुरिएको माटो झिक्ने काम अघि बढेको उल्लेख गर्दै उनले विकास निर्माणका क्रममा कतिपय व्यक्तिहरूले मुद्दा मामिला गर्दा काममा ढिलाइ हुने गरेको गुनासो गरे।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष कुमारी मुना बास्तोला, वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेल, महिला सञ्जाल पोखरा–६ की अध्यक्ष बबिता मल्ललगायतले शुभकामना मन्तव्य दिएका थिए।
वक्ताहरूले फेवातालको सिरानस्थित सिमसार क्षेत्र पुरिने कार्यमा रोक लगाउनुपर्ने र संरक्षणका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाका अध्यक्ष ठाकुर बरालको अध्यक्षतामा सम्पन्न साधारण सभामा उपाध्यक्ष अनिल थापाले स्वागत मन्तव्य दिएका थिए भने सचिव शान्ता तिमिल्सिनाले महासचिवको प्रतिवेदन प्रस्तुत गरिन्। कोषाध्यक्ष निर्मला थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ।


