रास्वपाले १५१ सिट जित्छ, स्पष्ट बहुमतसहित देश हाँक्ने तयारीमा छौं : उपसभापति डा. स्वर्णिम वाग्ले

Share:

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनमा १५१ सिट जितेर मुलुकलाई नयाँ बाटोमा लैजाने दाबी गरेका छन्। पोखरामा शनिबार आयोजित सदस्य भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले स्पष्ट बहुमतसहित शासन गर्ने लक्ष्यसाथ पार्टी अघि बढिरहेको बताए।

‘२७५ सांसदको संसदमा २१ जनाको संख्यामा रहँदाको अनुभव अत्यन्त पीडादायी थियो,’ वाग्लेले भने, ‘अब ५०/६० सिट ल्याएर चिया खाएर बस्ने होइन, स्पष्ट बहुमतका साथ देशको नेतृत्व गर्ने तयारीमा छौं।’ अब ‘म्याजिक नम्बर’ को पछि नलागी सीधै बहुमतका लागि रणनीति बनाइएको उनले स्पष्ट पारे।

उपसभापति वाग्लेले विगत ७० वर्षमा ठूला दलहरूले पाएका ऐतिहासिक अवसर सदुपयोग गर्न नसकेको टिप्पणी गरे। २०४८ मा कांग्रेस, २०६४ मा माओवादी र २०७६ मा एमालेले झण्डै दुई तिहाइ बहुमत पाए पनि आन्तरिक खिचलो र पदको लुछाचुँडीका कारण ती अवसर खेर गएको उनको भनाइ थियो। ‘अब चौथो पटक ऐतिहासिक अवसर आउँदै छ, विगतका गल्तीबाट सिकेर रास्वपाले सुसंस्कृत राजनीतिको अभ्यास गर्नेछ,’ वाग्लेले भने।

कलिलो पार्टी

रास्वपा नयाँ भए पनि नेतृत्वको दूरदृष्टिका कारण छोटो समयमै जनआशा जगाउन सफल भएको वाग्लेले दाबी गरे। पार्टी विस्तारमा ‘अर्गानिक’ मात्र भएर नपुग्ने भन्दै विशाल र निर्णायक शक्ति बन्नुको विकल्प नरहेको उनले बताए। सभापति रवि लामिछाने र उपसभापतिहरूले त्याग र जोखिम मोलेर महाअभियान सुरु गरेको उल्लेख गर्दै रास्वपाको अभियान दिनदुगुना र रातचौगुना विस्तार भइरहेको दाबी गरे।

उपसभापति वाग्लेले युवाहरूको आशाका केन्द्र बनेका बालेन शाह र कुलमान घिसिङजस्ता व्यक्तित्वसँग सहकार्य गर्नु पार्टीलाई अझ सशक्त बनाउने रणनीति भएको बताए। ‘एक कदम पछाडि हटेर दुई कदम अगाडि बढ्ने नीति लिएका छौं,’ उनले भने, ‘त्यसैले विवेकशील साझाजस्ता शक्ति र व्यक्तिहरूलाई अभियानमा जोडिएको हो।’

यस्तै, कार्यक्रममा गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्का, पर्यटन व्यवसायी पुष्प अधिकारी र महिला नेतृ मिलन थापा रास्वपामा प्रवेश गरेका छन्। थारु समुदाय, दलित तथा विभिन्न पार्टी र व्यक्तित्वहरू पनि चाँडै अभियानमा जोडिने तयारीमा रहेको वाग्लेले बताए।

रास्वपामा प्रवेश गर्दै पूर्वमन्त्री कुमार खड्काले नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडिदिएपछि आफू स्वतन्त्र भएर नयाँ राजनीतिक यात्रामा होमिएको बताए। ‘मन रास्वपातिर थियो, तर शरीर र वचन कांग्रेसको बन्धनमा थियो,’ खड्काले भने, ‘तीन वर्ष निष्क्रिय बसेको अवस्थामा कांग्रेसले नै मलाई स्वतन्त्र बनायो, त्यसैले आज यहाँ छु।’

खड्काले देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्था अत्यन्त चिन्ताजनक रहेको टिप्पणी गरे। अर्थतन्त्रको रातो बत्ती बलिसकेको र नेपाल असफल राष्ट्रतर्फ उन्मुख भइरहेको चेतावनी उनले दिए।

शिक्षा प्रणालीको कडा आलोचना गर्दै उनले युवाहरू १० र १२ पास गर्ने बित्तिकै विदेशिने बाध्यतामा रहेको बताए। ‘हुनेखानेका सन्तान अमेरिका-अस्ट्रेलिया, नहुनेका छोराछोरी खाडीमा बाकसमा फर्कने अवस्था कहिलेसम्म सहने रु’ भन्दै उनले प्रश्न गरे।

खड्काले भ्रष्टाचारविरुद्धको संघर्ष र निष्पक्षताको मुद्दामा विश्वास गरेर आफू रास्वपाको कनिष्ठ सदस्यका रूपमा जोडिएको बताए। गौतम बुद्धदेखि मदन भण्डारीसम्मका विचारलाई केवल राजनीतिक भर्‍याङ बनाइएको भन्दै अब उनीहरूको सत्कार्यलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखे। उनले आगामी दिनमा लुम्बिनी प्रदेशमा पनि ठूलो शक्ति रास्वपामा समाहित गराउने संकल्प व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: