पथप्रदर्शकका लागि चरा पहिचान तालिम सम्पन्न, पोखरामा चरा पर्यटनलाई नयाँ गति

Share:

पोखरा । गण्डकी प्रदेशका पदयात्रा पथप्रदर्शकलाई लक्षित गरी आयोजना गरिएको तीन दिने चरा पहिचान तालिम आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पंछी समाजको संयुक्त आयोजनामा सम्पन्न तालिमले चरा पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावनाको ढोका खोलेको छ।

पदयात्रामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई चरासम्बन्धी जानकारी दिन सहज होस् भन्ने उद्देश्यले गण्डकी प्रदेशका विभिन्न पदयात्रा क्षेत्रमा सक्रिय ३६ जना पथप्रदर्शकलाई तालिम दिइएको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए।

तालिममा नेपाल पंछीविद् संघका अध्यक्ष हठनराम महतो, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख रविन कडरिया, काठमाडौं इन्भाइरोन्मेन्टल एजुकेशन प्रोजेक्ट (किप) का कार्यकारी सदस्य गोपि श्रेष्ठ तथा अन्य पंछीविद्हरूले चरा अवलोकन, पहिचान र संरक्षणका विषयमा सैद्धान्तिक तथा स्थलगत अभ्याससहितको प्रशिक्षण दिएका थिए।

समापन समारोहमा प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले चरा पर्यटन पर्यटन क्षेत्रको महत्वपूर्ण विधा भएको उल्लेख गर्दै तालिमबाट हासिल गरेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले कतिपय पर्यटक केवल चरा अवलोकनका लागि मात्र नेपाल आउने गरेको बताउँदै त्यस्ता पर्यटकलाई लक्षित सेवा दिन पथप्रदर्शकमा विशेषज्ञता आवश्यक रहेको धारणा व्यक्त गरे।

त्यसैगरी, नेपाल पंछीविद् संघका अध्यक्ष हठनराम महतोले चरा पर्यटनमा संलग्न हुन चाहने व्यक्तिले प्रविधिको प्रयोगसँगै यसप्रति गहिरो लगाव राख्नुपर्ने बताउनुभयो। समाजका सल्लाहकार जीवनराज सापकोटाले तालिमले पथप्रदर्शकलाई थप क्षमतावान बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रम समाजका अध्यक्ष मनशान्त घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संयोजक कृपाकुमार गुरुबाले सञ्चालन गरेका थिए। प्रशिक्षकद्वय कुसुमकुमारी थापा र दीपेन्द्र चपाईंले तालिमका क्रममा प्राप्त सिकाइ र अनुभवबारे सहभागीहरूसँग साझा गरे।

यसै अवसरमा नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजन तथा पोखरा पंछी समाजको प्रकाशनमा तयार गरिएको ‘मिलेनियम पदमार्गमा पाइने चराहरू’ शीर्षकको सचित्र पुस्तकको लोकार्पण पनि गरिएको थियो। पुस्तकले पदयात्रा र चरा पर्यटनलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

यस तालिमले पोखरालाई चरापर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: